अमेरिकी डलरको भाउ हिजोको तुलनामा केही घट्यो

काठमाण्डौ – केहीदिन देखि निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज भने घटेको छ । डलरको भाउ आज हिजोको तुलनामा १ रुपैयाँ ०३ पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर आज १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । हिजो अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा रहँदै एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । त्यसअघि अस्ति मंगलवार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा थियो ।

डलरको भाउँ तलमाथी भएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली मुद्रासँग अर्थतन्त्रमा पर्छ । भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर रहेकाले भारु कमजोर बन्दै गर्दा त्यो सँगै नेपाली रुपैयाँ पनि खस्किएको हो । विश्व बजारमा अमेरिकी डलर कमजोर रहे पनि भारतीय रुपैयाँको तुलनामा भने डलर झन्झन् बलियो हुँदै गएको छ । अमेरिकी डलर महँगो हुँदा नेपालको अर्थतन्त्रमा केही फाइदा भए पनि धेरै नोक्सान हुने गर्दछ ।

डलर महँगो हुँदा सबैभन्दा पहिलो समस्या नेपालको आयातमा पर्न जान्छ । आयातका लागि डलरको प्रयोग हुने भएकोले डलर बढ्दा आयातमा हुने खर्च रकम पनि स्वतः बढ्छ त्यसले बजारमा महँगी बढ्छ । यस्तै यसले नेपाली विद्यार्थी बाहिरिँदा हुने खर्च तथा नेपाली नागरिक विदेश जाँदा हुने खर्च पनि बढाउँछ । निर्यातमा चाँही यसले फाइदा पुर्याउछ । किन भने हामीले बेच्ने सामानको मूल्य डलरमै पाइन्छ । त्यसैले डलको भाउ बढेसँगै निर्यात बढाउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ ।

तर आयातको तुलनामा निर्यात न्यून रहेकाले अन्तर्राष्ट्रिय मुद्रा वा डलर बलियो बन्दै जानु तत्कालका लागि लाभदायक देखिदैन । तर रेमिटान्समा सकारात्मक प्रभाव पर्छ भने वैदेशिक रोजगारीमा रहेकाहरुको कमाइ बढ्छ  । यस्तै विदेशी पर्यटकहरूका लागि पनि नेपाल सस्तो भएर थप आकर्षक हुन सक्छ । जसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिन्छ । डलरको भाउ बढ्दा ठूलो समस्या सार्वजनिक ऋणमा पर्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कूल ऋण दायित्व २७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । त्यसमध्ये विदेशी ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ छ ।

सबैजसो विदेशी ऋण अमेरिकी डलर वा अन्तर्राष्ट्रिय मुद्राकोषले सिर्जना गरेको एसडीआर भनिने अन्तर्राष्ट्रिय मुद्रामा तिरिन्छ । यो मुद्रा पनि अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी यन र ब्रिटिश पाउन्डमा निर्भर रहन्छ । गएको वर्ष एक अमेरिकी डलर बराबर एक सय ३४ रुपैयाँ रहेकोमा एक वर्षमै ७ प्रतिशतले बढेको छ । पाँच वर्ष अगाडि एक डलरको भाउ एक सय १८ रुपैयाँ थियो ।