कुनै ब्यक्तिले नीजि सम्पत्तिका रुपमा लालपूर्जा बनाईसकेको स्वयम्भूको तलतिर रहेको ऐतिहासिक स्थल भुइख्यः सार्वजनिक ख्यः नै रहेको भनी उच्च अदालत पाटनबाट फैसला भएको छ ।
धार्मिक र सांस्कृतिक महत्वले भरिपूर्ण प्रत्येक १२ वर्षमा आयोजना गरिने सम्यक महादान पर्व मनाइने ऐतिहासिक स्थल भुइख्यःलाई नीजि जग्गा बनाई लालपूर्जा समेत लिइएको विषयमा उच्च अदालतमा रित परेको हो भने गतः थिंलागाः एकादशी, सोमबार (मंसीर २९ गते) यसको फैसला भई अदालतले भुइख्यःको लालपूर्जा लिइराखेका हरुको उक्त खुल्ला जग्गा नीजि हो भन्ने दाबी अपूर्ण रहेको भनी फैसला सुनाइएको हो ।
भुइख्यःको लालपूर्जा काठमाण्डौै लगंबहालका तीर्थ शाक्य र मुक्ति शाक्य नामका दुई दाजुभाइले लिइराखेको हो । भुइख्यः आफ्ना नीजि सम्पत्ति हो भनी दुई शाक्य दाजुभाइले– भुइख्यःमा कामपा १५ वडा कार्यालयबाट गरिरहेको भुइख्यः सत्तलको जीर्णोद्धार रोक्का गरी दिएपछि यस विवाद सार्वजनिक भएको हो । सम्यक महादान जस्ता धार्मिक कार्यको आयोजना गर्नुपर्ने भुइख्यःलाई लगंबहाःका भाजुरत्न शाक्यले केही वर्ष अघि ‘सम्यक नीजि गुथि’ भनी नामाकरण गरी आफ्ना नाममा लालपूर्जा लिइएको र भाजुरत्न दिवंगत भएपछि वहाँका दुई छोराहरु तीर्थ शाक्य र मुक्ति शाक्यले ‘सम्यक’ शब्द निकालेर ‘नीजि गुथि’ मात्र नामाकरण गरी अर्को लालपूर्जा लिइएको हो भने, शाक्य दाजुभाइ द्वयले गुथि संस्थानको नाममा गयो भने हिनामिना हुनसक्छ भनी आफ्ना पिताले आफ्ना नाममा ल्याई बचाइएको भनी दाबी गर्नुभएको छ ।
वहाँहरुको लालपूर्जामा उल्लेखित भुइख्यः सत्तल, पिपलबोट, ढुंगेधारा, कर्कोटक नागको देवल, आदि इत्यादि सबै नै सार्वजनिक सम्पदा भएका कारण यस प्रकारका सार्वजनिक सम्पदाहरु रहेका ख्यः / जग्गा पनि सार्वजनिक नै हुन्छ भनी अदालतबाट फैसला भएको छ ।
उच्च अदालतका न्यायाधीशहरु लेखनाथ पौडेल र अवनी मैनाली भट्टराईको संयुक्त इजलासले यस प्रकारको फैसला सुनाइएको हो । भुइख्यःमा नीजि ब्यक्तिको दावी पर्ने वित्तिकै त्यसलाई बचाउन ‘भुइख्यः बचाऊ नागरिक अभियान’ नै स्थापना गरी सम्पदा अभियन्ताहरुले अभियान सञ्चालन गरिएको र अभियन्ताहरुका तर्फबाट नै मुद्दा राख्ने काम भएको हो । भुइख्यः सार्वजनिक सम्पत्ति हो भनी प्रमाणित भइसकेपछि अभियानका अभियन्ता सदस्य ज्ञानेन्द्र रत्न बज्राचार्यले अब सार्वजनिक रुपमा नै ऐतिहासिक स्थल भुइख्यःको संरक्षण गरिने भनी जानकारी दिनुभएको छ ।
