नेवा: एकता दिवसका अवसरमा हलिं नेवाः गुथिको आयोजनामा नेवा:र्याली गरेको छ।
सोह्रौं नेवार एकता दिवसको अवसरमा हलिं नेवाः गुथिको आयोजनामा प्वहेलाथ्वः अस्तमि, आइतबार (पुष १३ गते)का दिन काठमाण्डौंमा नेवा: र्याली निकालेर नेवार एकता दिवस मनाइएको छ । काष्ठ मण्डप क्षेत्रबाट सांस्कृतिक बाजागाजाका साथमा काठमाण्डौंका विभिन्न क्षेत्रमा उक्त र्याली परिक्रमा गरिएको हो ।
नेवा: एकता दिवसका अवसरमा भएको र्यालीमा आदिवासी नेवार भूमिमा कुनै पनि काम गर्न स्वतन्त्र अग्रीम जानकारीका साथमा एफपिक अनिवार्य रुपमा लिनुपर्ने भनी स्थानीय सरकार संचालन ऐनमा ब्यवस्था भए बमोजिम स्थानीय सरकारले नेवा: सांस्कृतिक संरक्षणका निमित्त नेवारहरुका क्षेत्रमा नेवार सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरी कार्यान्वयन गरिनुपर्ने, नेवार क्षेत्रका स्थानहरुका नाम परिवर्तन गरी जथाभावी राखिएकोमा पुरानै नाम राख्नका निमित्त कानून बनाइनु पर्ने, संचार माध्यमलाई बहुभाषिक संचार माध्यमका रुपमा अगाडि बढाउन बेग्लै किसिमको कानून निर्माण गर्नुपर्ने, संविधानको धार ५६ (५) मा ब्यवस्था भएको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई गर्न कानून बनाइनु पर्ने, भाषा, जाति, संस्कृति, ऐतिहासिक र भौगोलिक निरन्तरताको पहिचानको आधारमा प्रदेश निमार्ण गर्न संविधान संशोधन गर्नुपर्ने, एकीकृत बागमती सभ्यता विकास आयोजनाको हालको संरचना खारेज गरी नदी छेउमा रहेकाहरुको सहमति अनुसार एफपिक लिएर मात्र काम अगाडि बढाउने गरी नेवा: आदिवासी र स्थानीय समुदायको नेतृत्वमा संरचना बनाइनु पर्ने, काठमाण्डौं उपत्यका विकास प्राधिकरण खारेज गरी स्थानीय जनप्रतिनिधि र आदिवासीका साथै स्थानीय समुदायलाई समावेश गरी संरचना निर्माण गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकी परिक्रमा गरिएको हो ।
