भोजपुरमा ‘तेस्रो पौवादुङमा गोल्डकप’ सुरु : नेपाली सेनासहित १६ टोली भिड्दै

काठमाडौँ,  माघ १४ ।  भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुँदैछ । “हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसियाली” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपाली सेनासहित १६ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।

गाउँपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगितामा जिल्ला भित्र र बाहिरका प्रतिष्ठित क्लबहरूको सहभागिता रहने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेनाको नयाँ श्रीनाथ गणका अतिरिक्त जाल्पादेवी एफसी (धनकुटा), अलस्टार क्लब (धरान), छथर गाउँपालिका (तेह्रथुम), तालतलैया एफसी (इटहरी), बुढीगंगा गाउँपालिका (मोरङ), दिप्रुङ चुइचुम्मा गाउँपालिका (खोटाङ) र गोलबजार युनाइटेड क्लब (सिरहा) लगायतका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

माघ १४ देखि २३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेताले नगद २ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समेत आकर्षक व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको छ ।

आज हुने उद्घाटन खेलमा नेपाली सेनाको नयाँ श्रीनाथ गण र जाल्पादेवी एफसी पाख्रीवास, धनकुटाबीच प्रतिस्पर्धा हुने तय भएको छ । खेलकुदको माध्यमबाट स्थानीय क्षेत्रको पहिचान र युवा प्रतिभालाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले यस गोल्डकपलाई निरन्तरता दिँदै आएको हो ।