काठमाडौं – फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै काठमाडौंमा सुरक्षा उपाय कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा सुनिश्चित गर्न गस्ती बढाएको छ।
एसएसपी रमेश थापाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती सञ्चालनमा आएको छ। यस्तै, होटल, लज तथा सार्वजनिक स्थलहरूमा ‘डग स्नीफिङ’सहितको निरीक्षण सुरु गरिएको छ। काठमाडौंका विभिन्न ठाउँमा सरप्राइज चेकिङ समेत गरिँदैछ।
उनले भने, “हामी सुरक्षा चुनौतीका बारेमा सूचना संकलन गरी त्यसलाई विश्लेषण गर्दै रणनीति बनाएर काम गरिरहेका छौँ।”
काठमाडौंमा हाल ३२० मतदान स्थलहरू छन्, जसमा १७६ सामान्य र १४४ संवेदनशील मानिएका छन्। यसमध्ये कुनै पनि अतिसंवेदनशील मतदान स्थल छैन। निर्वाचनका लागि काठमाडौंमा मात्रै ३ हजार ८५४ निर्वाचन प्रहरी तैनाथ गरिएको छ। यस तयारीले निर्वाचन समयमा सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
