झापा- झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ स्थायी घर भई विगत ९–१० वर्षदेखि चारआली क्षेत्रमा मागी खाई हिँड्ने ३८ वर्षीय तपस नेपाली मृत फेला परेका हुन्।
गएराति मेचीनगर–१३ चारआली निवासी जीवन कार्कीको घरको वरन्डामा नेपाली मृत अवस्थामा भेटिएका थिए। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया पुरा गरेको छ। मृतकका आफन्तलाई समेत घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।
शवको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी टोलीले जानकारी दिएको छ।
