काठमाडौँ–८ मा एमालेका राजेश शाक्य चुनावी दौडधुपमा सक्रिय

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा नेकपा (एमाले) ले सूर्य चिन्हसहित राजेश शाक्यलाई उम्मेदवार बनाएपछि उनी चुनावी गतिविधिमा झनै सक्रिय देखिएका छन्। राष्ट्रिय युवा संघ नेपालमार्फत राजनीतिमा होमिएका शाक्य पार्टी संगठन र भूगोल दुवैमा लामो समयदेखि क्रियाशील रहँदै आएका नेता हुन्।

वि.सं. २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिका–१९ का निर्वाचित वडा सदस्य बनेका थिए। त्यसपछि २०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनमा काठमाडौँ–८ (१) बाट निर्वाचित हुँदै नेपाली कांग्रेसकी उम्मेदवार राज्यलक्ष्मी श्रेष्ठलाई पराजित गरेका थिए।

शाक्य काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रस्थित काष्ठमण्डप पुनर्निर्माणमा निर्णायक भूमिकामा रहेका व्यक्ति हुन्। २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएका काठमाडौँका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेकाले यसपटकको निर्वाचनमा पनि आफू विजयी हुनेमा उनी विश्वस्त देखिन्छन्।

निर्वाचन क्षेत्र नम्बर ८ महानगरका सबैभन्दा धेरै वडा समेटिएको क्षेत्रका रूपमा चिनिन्छ। यस क्षेत्रमा वडा नम्बर १३, १५, १९, २०, २३ र २४ पर्दछन्। कुल ५७ हजार ८११ मतदाता रहेको यस क्षेत्रमा २३ मतदान स्थल र ६५ मतदान केन्द्र तोकिएका छन्। क्षेत्र फराकिलो र मतदाता संख्या बढी भएकाले शाक्य मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिन्छन्।

यस निर्वाचनमा शाक्यले ‘विनाश होइन विकास’ भन्ने नारालाई अगाडि सारेका छन्। उनले नेकपा (एमाले) को ‘सुदृढ राष्ट्रवाद’ को अवधारणालाई नेवाः पहिचानसँग जोड्दै चुनावी अभियानलाई अघि बढाएका छन्। स्वयम्भूदेखि भित्री सहरका साँघुरा गल्ली र सांस्कृतिक संवेदनशीलता बुझ्ने उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका शाक्य स्थानीय संस्कृति संरक्षणमा जोड दिने भरपर्दो विकल्प भएको बुझाइ स्थानीय तहमा बढ्दै गएको देखिन्छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–८ बाट शाक्यको पक्षमा जनमत कति जुट्छ भन्ने विषय भने मतपरिणामसँगै खुल्नेछ।