काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिका वडा नम्बर २३ मा निर्वाचन लक्षित परिचालन समिति गठन गरेको छ। पूर्व उपप्रधानमन्त्री तथा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त समिति औपचारिक रूपमा घोषणा गरिएको हो।
कार्यक्रममा वडा नम्बर २३ का वडाध्यक्ष मचा राजा महर्जन, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य लगायत स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
सो अवसरमा प्रमुख अतिथि शाक्यले काठमाडौँ क्षेत्र नम्बर ८ का एमाले उम्मेदवार राजेश शाक्य लाई खादा तथा मालासहित सम्मान गर्दै घरदैलो अभियानको औपचारिक सुरुआत गरिन्।
नेतृ शाक्यले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन एकजुट भएर सक्रिय हुन आह्वान गरिन्। उनले संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
क्षेत्र नम्बर ८ मा उम्मेदवार राजेश शाक्यले विगत केही दिनदेखि घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई निरन्तरता दिएका छन्। निर्वाचन नजिकिँदै जाँदा एमालेले वडा तहबाटै अभियान सशक्त बनाउने रणनीति अघि बढाएको देखिन्छ।
