काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा चुनावी सरगर्मी बढेको छ। यही परिवेशमा तारा चिन्हका उम्मेदवार बसन्त मानन्धरले जिम्मेवार र जनमुखी नेतृत्वको आवश्यकता औंल्याउँदै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
मानन्धरले देशको वर्तमान अवस्थाले मतदातालाई गम्भीर निर्णय लिन बाध्य बनाएको उल्लेख गर्दै भावनाभन्दा विवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्। उनका अनुसार पारदर्शी र जवाफदेही शासन व्यवस्था निर्माण नगरेसम्म जनताको आशा पुनर्स्थापित हुन सक्दैन।
उम्मेदवार मानन्धरले आफ्नो प्रतिबद्धतामा युवाका लागि रोजगारी सिर्जना, स्थानीय विकासलाई प्राथमिकता, शिक्षा–स्वास्थ्य र पूर्वाधार सुधार तथा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन्।
“जनताको आवाज संसदसम्म पुर्याउने, निडर भएर बोल्ने र विकासलाई व्यवहारमा उतार्ने नेतृत्वको आवश्यकता छ,” उनले घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा बताएका छन्।
काठमाडौँ–७ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। मतदातामाझ तारा चिन्हलाई आशा र परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गर्दै मानन्धरले संगठित रूपमा प्रचार–प्रसारलाई अघि बढाएका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा उक्त क्षेत्रमा राजनीतिक गतिविधि थप चुलिने देखिएको छ।
