भोलिदेखि फागु पूर्णिमा सुरु: बिहान साइतमा चीर गाडिँदै

काठमाडौँ — फागु पूर्णिमा (होली) पर्वको औपचारिक सुरुवातका रूपमा भोलि बिहान ७:१३ बजे शुभ साइतमा काठमाडौँको बसन्तपुर दरबार क्षेत्र मा चीर  विधिवत रूपमा गाडिने भएको छ। फाल्गुन शुक्ल अष्टमीका दिन गरिने यस पवित्र अनुष्ठानलाई होली पर्वको आधिकारिक आरम्भ मानिन्छ।

परम्पराअनुसार चीर स्थापना गरिएको दिनलाई चीर स्वायगु भनिन्छ, जुन होली पूर्णिमाभन्दा एक साता अगाडि पर्छ। यही दिनदेखि फागु पूर्णिमा (होली) को औपचारिक कार्यक्रम सुरु भएको मान्यता छ।

स्थापित चीर एक हप्तासम्म बसन्तपुरमा रहनेछ। पूर्णिमाको राति चीर ढालेर जलाइनेछ, जसलाई होलिका दहन भनिन्छ। सो अनुष्ठानसँगै होली पर्वको औपचारिक समापन हुने परम्परा रहेको छ।

काठमाडौँ उपत्यकामा चीर स्थापना र दहनको परम्परा ऐतिहासिक तथा सांस्कृतिक रूपमा विशेष महत्व राख्छ। यसले वसन्त ऋतुको आगमन र असत्यमाथि सत्यको विजयको सन्देश दिने विश्वास गरिएको छ।