भारी मतान्तरले विजयी विराजभक्त ,आकाश भैरवदेखि आदेश्वर महादेवसम्म दर्शन

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले धार्मिक स्थलहरूमा दर्शन गर्दै आफ्नो विजय उत्सव मनाएका छन्।

विजयपछि श्रेष्ठले आदेश्वर महादेव मन्दिर, इन्द्रचोकको आकाश भैरव मन्दिर र काठमाडौँ गणेशथान मा पुगेर दर्शन गरेका थिए।

यस अवसरमा उनले जनताले अपेक्षा गरेभन्दा पनि ठूलो समर्थन दिएको भन्दै अब जिम्मेवारी झनै बढेको बताएका छन्।

विजयपछि प्रतिक्रिया दिँदै श्रेष्ठले भने, “हामीले सोचेभन्दा पनि आम नेपाली नागरिकहरूले परिवर्तन चाहनुभएको रहेछ।अब हाम्रो काँधमा जिम्मेवारी पनि त्यत्तिकै बढेको छ। देशमा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त नेपाल बनाउने हाम्रो हुनेछ।”

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार श्रेष्ठ भारी मतान्तरसहित विजयी भएका हुन्। उनले २४ हजार ५९२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत मात्रै प्राप्त गरे। श्रेष्ठ र सायमीबीचको मतान्तर २१ हजारभन्दा बढी रहेको छ।

यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका श्रेष्ठले यसपटक पनि आफ्नो राजनीतिक विरासत कायम राख्दै पुनः जनमत जित्न सफल भएका छन्।