काठमाडौँ भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री **सुशीला कार्की**लाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार आयोगले बिहान ११ बजे प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउने कार्यक्रम तय गरिएको छ।
आन्दोलन र प्रदर्शनका क्रममा भएको भनिएको दमन, आगजनी तथा तोडफोड घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले ‘भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२’ गठन गरेको थियो।
मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश **गौरीबहादुर कार्की**को अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो। आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
आयोग अध्यक्ष कार्की विशेष अदालतका पूर्वअध्यक्षसमेत हुन्। आयोगले आन्दोलनका क्रममा भएका घटनाको अध्ययन, सम्बन्धित पक्षसँग बयान तथा प्रमाण संकलन गरी प्रतिवेदन तयार पारेको बताइएको छ।
अब आयोगले बुझाउने प्रतिवेदनका आधारमा सरकारले थप निर्णय र कारवाही प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
