काठमाडौँ — नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व पाहाँचह्रे अन्तर्गत मनाइने कंकेश्वरी (कंग अजिमा) देवीको वार्षिक खटजात्रा तथा पैदल यात्रा चैत ३ गतेदेखि सुरु हुने भएको छ।
कंकेश्वरी मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार चैत ३ देखि ५ गतेसम्म विभिन्न स्थान हुँदै धार्मिक यात्रा सञ्चालन गरिनेछ।
तालिकाअनुसार चैत ३ गते कागेश्वरी मनोहरा नगरपालिका–१४ स्थित मन्दिरघरबाट पैदल यात्रा सुरु हुनेछ। सो दिन साँझ ५ बजेदेखि कार्यक्रम सुरु भई राति करिब ८ बजेसम्म कंकेश्वरी (कंग अजिमा) मन्दिर पुग्ने कार्यक्रम तय गरिएको छ।
चैत ४ गते विष्णुमती किनारास्थित कंकेश्वरी (कंग अजिमा) मन्दिरबाट यात्रा सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै टुँडिखेलमा राति १० बजे खट जुराउने कार्यक्रम रहेको छ।
त्यसैगरी चैत ५ गते बिहान ६ बजेदेखि यतखा कंकेश्वरी मन्दिरघरबाट यात्रा सुरु भई विभिन्न स्थान हुँदै असनमा खट जुराइने मुख्य कार्यक्रम हुनेछ। सोही दिन दिउँसो २ बजे असनमा मुख्य खटजात्रा तथा ‘द्य ल्वाकेगु’ विधि सम्पन्न गरिने जनाइएको छ।
पाहाँचह्रे पर्वका अवसरमा काठमाडौँका विभिन्न शक्तिपीठबाट देवीदेवताका खटजात्रा निकाल्ने परम्परा रहिआएको छ। यस क्रममा भद्रकाली (लुँमरी अजिमा) र कंकेश्वरी (कंग अजिमा) का खट असन क्षेत्रमा ल्याइने र प्रतीकात्मक रूपमा देवीबीच भेटघाट गराइने चलन रहेको छ।
पाहाँचह्रेको दोस्रो दिन घोडेजात्रासँगै दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने चलन छ। ८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ।
काठमाडौँ उपत्यकामा पाहाँचह्रे घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म मनाइन्छ। नेवार समुदायको यो दशैँपछिको महत्वपूर्ण पर्व मानिन्छ। पर्वका अवसरमा विभिन्न शक्तिपीठमा पूजा, समय्बजी खाने परम्परा तथा देवीदेवताका खटजात्रा निकाल्ने चलन रहेको छ।
नेवा: समुदायको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको कंकेश्वरी (कंग अजिमा) खटजात्राले काठमाडौँ उपत्यकाको धार्मिक आस्था, सामाजिक सम्बन्ध तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
