नेपालभाषालाई नयाँ पुस्तामाझ प्रवर्द्धन गर्ने उद्देश्यले जापानमा बस्दै आएका सुनिल कुमार शाक्यले आफ्नी छोरी कारेन शाक्यलाई नेवारी गीतमार्फत अघि बढाएका छन्। यसै क्रममा कारेनको स्वरमा रहेको “चुलबुल चञ्चल बोला” बोलको गीतको म्युजिक भिडियो हालै कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर गरिएको छ।
जनकवि दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यु बज्राचार्यको संगीतमा तयार भएको उक्त गीतका लागि क्यारेनले जापानमै बसेर अभ्यास गरेकी थिइन्। भिडियो ज्योति म्युजिकको प्रस्तुतिमा निर्माण गरिएको हो।
म्युजिक भिडियोमा अभिनयका लागि क्यारेन आफ्ना अभिभावकसँग नेपाल आएकी हुन्। भिडियोको कोरियोग्राफी रोहिया महर्जनले गरेकी छन् भने छायांकन सोहन मानन्धरले गरेका छन्। निर्देशन विश्वास बज्राचार्यले सम्हालेका छन्।
कारेन शाक्यको यसअघि सार्वजनिक भएको नेपालभाषा गीत ‘समाःया सँया झा’ ले दर्शक–श्रोताबाट राम्रो प्रशंसा पाएको थियो।
समाजसेवी तथा व्यवसायी सुनिल कुमार शाक्यका अनुसार विदेशमा बसोबास गर्ने नेपालीहरूले यस्ता म्युजिक भिडियो निर्माण गर्दा नयाँ पुस्तालाई मातृभाषा, कला–संस्कृति र नेपालको पहिचानसँग जोड्न मद्दत पुग्ने विश्वास गरिएको छ। साथै, नेपालमा केही समयदेखि सुस्ताएको संगीत क्षेत्रमा पनि यसले आर्थिक तथा सिर्जनात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको उनले बताए।
उक्त गीत “म्हा म्हा इन्टरटेन्मेन्ट” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
