अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ। राष्ट्रपति ट्रम्पले इरानलाई होर्मुज जलडमरू खोल्न ४८ घण्टाको अन्तिम समयसीमा दिँदै अन्यथा इरानका सबै पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी दिनुभएको थियो।
ट्रम्पको यस धम्कीको कडा प्रतिवाद गर्दै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजिसी) ले यदि ऊर्जा प्रतिष्ठानमा आक्रमण भएमा होर्मुज जलडमरूलाई पूर्ण रूपमा ठप्प पारिदिने घोषणा गरेको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार आफ्ना ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म यो समुद्री मार्ग नखोलिने अडान इरानले राखेको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले जलडमरू आधिकारिक रूपमा बन्द नभए पनि अमेरिका र इजरायलको आक्रामक नीतिका कारण जहाजहरू सो मार्ग प्रयोग गर्न डराइरहेको बताउनुभएको छ।
विश्वको २० प्रतिशत तेल आपूर्ति हुने यो रणनीतिक मार्ग बन्द हुने अवस्थाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा समेत भारी वृद्धि गराएको छ।
