शीतलनिवासमा नवनियुक्त मन्त्रिमण्डलको भव्य शपथ ग्रहण समारोह

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज एक विशेष समारोहका बीच नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई शपथ गराउनुभयो, जसले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी समेत आफैँसँग राख्नुभएको छ।

समारोहको वातावरणलाई आध्यात्मिक बनाउन बटुकहरूले स्वस्तिवाचन र लामाहरूले मंगलवाचन गरेका थिए।

मन्त्रिमण्डलको वरियतामा दोस्रो स्थानमा रहेका स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कमान सम्हाल्नुभएको छ भने तेस्रो वरियतामा रहेका सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।

परराष्ट्र मामिलाको नेतृत्व शिशिर खनालले गर्नेछन् भने सुनिल लम्साललाई भौतिक पूर्वाधार, यातायात र सहरी विकास जस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ। त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाइमा विराजभक्त श्रेष्ठ र पर्यटन मन्त्रालयमा खड्कराज पौडेल (गनेश) नियुक्त हुनुभएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद मन्त्रालयको कार्यभार सस्मित पोखरेलले सम्हाल्ने गरी कार्यविभाजन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता, सञ्चारमा विक्रम तिमिल्सिना र सामान्य प्रशासनमा प्रतिभा रावल चयन हुनुभएको छ। श्रम मन्त्रालय दीपक साह (महोत्तरी) ले र कानुन मन्त्रालय सोविता गौतमले सम्हाल्नुहुनेछ भने महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सीता वादीलाई दिइएको छ।