गुण्डु तनावग्रस्त: केपी शर्मा ओली पक्राउ हुन सक्ने संकेत

काठमाडौं । भक्तपुरको गुण्डु क्षेत्रमा शनिबार रातभर असामान्य गतिविधि देखिएपछि स्थानीय स्तरमा त्रास र चासो दुवै बढेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गर्न सकिने चर्चासँगै सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको स्रोतहरूले जनाएका छन्।

स्थानीयवासीका अनुसार राति अबेरसम्म प्रहरी र सादा पोशाकका सुरक्षाकर्मीको आवतजावत बाक्लो देखिएको थियो। केही स्थानमा राजनीतिक कार्यकर्ताहरू समूहमा भेला भएको समेत देखिएको बताइएको छ।

यद्यपि नेपाल प्रहरीले आधिकारिक रूपमा कुनै कारबाही सुरु भएको पुष्टि गरेको छैन। “स्थिति सामान्य नै छ,” एक प्रहरी अधिकारीले भने, “अनावश्यक हल्लामा नलाग्न आग्रह छ।”

पछिल्लो समय सार्वजनिक भएको जाँचबुझ प्रतिवेदनले भदौ २३–२४ मा भएको जेन–जेड आन्दोलनको दमन प्रकरणमा तत्कालीन सरकार प्रमुखसहित उच्च अधिकारीहरूको भूमिकामाथि प्रश्न उठाएपछि राजनीतिक वातावरण तातिएको छ। सो प्रतिवेदनमा केपी शर्मा ओली विरुद्ध समेत अनुसन्धान सिफारिस गरिएको छ।

सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको अवस्थामा कानुनी प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। यही सन्दर्भमा सम्भावित पक्राउको चर्चा व्यापक बनेको हो।

उता, एमाले निकट स्रोतहरूले भने यस्तो हल्लालाई ‘राजनीतिक रूपमा प्रेरित’ भएको दाबी गरेका छन्। पार्टीका केही नेताहरूले कानुनी प्रक्रिया पारदर्शी हुनुपर्ने बताएका छन् भने कुनै पनि ‘हठात् कदम’ ले स्थिति झनै जटिल बन्न सक्ने चेतावनी दिएका छन्।

हाल गुण्डु क्षेत्र शान्त भए पनि सुरक्षा निगरानी भने कायमै रहेको बताइएको छ। घटनाक्रम कसरी अघि बढ्छ भन्नेमा राजनीतिक र सर्वसाधारण दुवैको चासो केन्द्रित भएको छ।