साढे दुई वर्षपछि सर्वसाधारणका लागि खुल्यो खुलामञ्च, बिहान १० बजेसम्म योग र व्यायाम गर्न पाइने

काठमाडौँको मुटुमा रहेको ऐतिहासिक खुलामञ्च आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।

काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय आरोग्य दिवस तथा नयाँ वर्षको अवसर पारेर नागरिकका लागि यो सार्वजनिक स्थल उपलब्ध गराएको हो।

महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार अबदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म खुलामञ्च सबैका लागि खुला रहनेछ।

विशेषगरी आज आरोग्य दिवसको अवसरमा बिहान साढे ६ देखि साढे ९ बजेसम्म योग, ध्यान र साउन्ड हिलिङ जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

सहरमा खुला ठाउँहरूको अभाव भइरहेका बेला नागरिकको शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै यो कदम चालिएको डंगोलको भनाइ छ।

विगत साढे दुई वर्षदेखि विभिन्न कारणले बन्द रहेको खुलामञ्चलाई पहिलेकै स्वरूपमा फर्काउन महानगरले केही समयअघि दुबो रोपेर हरियाली बनाउने काम समेत गरेको थियो।

काठमाडौँ महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष योगेशकुमार खड्गीले सर्वसाधारणको निरन्तरको माग र दबाबपछि यसलाई मर्निङवाक र व्यायामका लागि उपयुक्त पार्कका रूपमा विकास गरी खुला गरिएको बताउनुभयो।