प्रेस स्वतन्त्रतामाथि धावा नबोल: खबरदारी गर्दै माइतीघरदेखि बानेश्वरसम्म सडकमा उत्रिए पत्रकार

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज काठमाडौँको सडकमा पत्रकारहरूको व्यापक शक्ति प्रदर्शन भएको छ।

नेपाल पत्रकार महासङ्घको अगुवाइमा ‘शान्तिपूर्ण भविष्यका लागि प्रेस स्वतन्त्रता’ को नारा घन्काउँदै माइतीघर मण्डलाबाट निस्किएको ऐक्यबद्धता पदयात्रा बानेश्वर पुगेर गर्जनसहित कोणसभामा परिणत भयो।

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रताको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रेस स्वतन्त्रतालाई मानव अधिकारको अभिन्न अङ्गको रूपमा व्याख्या गरे।

उनले प्रेसमाथि हुने कुनै पनि प्रहारमा आयोग मूकदर्शक नबस्ने र रक्षार्थ ढाल बनेर उभिने चेतावनी दिए।

यस्तै, महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता संवैधानिक हक भएको स्मरण गराउँदै यसलाई कुण्ठित पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन्।

कानुनी क्षेत्रको ऐक्यबद्धता जनाउँदै नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले प्रेसमाथि आउने अवरोध विरुद्ध कानुनी र नैतिक दुवै लडाइँ लड्न आफूहरू तयार रहेको उद्घोष गरे।