२२ वडा महोत्सव’ मा चार लाख सहभागिता अपेक्षा, व्यवस्थापन तयारी तीव्र

काठमाडौँ, वैशाख ३१ । २२ वडा महोत्सव लाई लक्षित गर्दै काठमाडौं महानगरपालिका वडा नं. २२ ले सुरक्षा, पार्किङ र भीड व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । आगामी जेठ २ गते आयोजना हुने महोत्सवमा करिब चार लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको वडा कार्यालयले जनाएको छ ।

प्राचीन व्यापारिक तथा सांस्कृतिक क्षेत्रका रूपमा परिचित वडा नं. २२ मा आयोजना हुने महोत्सवलाई यस वर्ष राजधानीकै ठूलो सांस्कृतिक तथा व्यावसायिक उत्सवका रूपमा प्रचार गरिएको छ । कार्यक्रम अवधिभर न्युरोड, टेवहाल, सुन्धारा, खिचापोखरी र गणवहाल क्षेत्रमा विशेष चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

वडा अध्यक्ष चिनीकाजी महर्जन का अनुसार सहभागीको सहज आवतजावत र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । पार्किङका लागि धरहरा आसपासका क्षेत्रसँगै सिभिल मल, सीटीसी मल, काठमाडौँ मल र एसटीसी मल प्रयोग गरिनेछ ।

महोत्सव बिहान ७:३० बजे क्यान्सर रोग रोकथामसम्बन्धी जनचेतनामूलक ‘वाकाथन’ बाट सुरु हुनेछ । त्यसपछि दिनभर सांस्कृतिक झाँकी, नेवारी खानाका स्टल, हस्तकला प्रदर्शनी, रक्तदान, पुस्तक तथा ऐतिहासिक तस्बिर प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन गरिनेछन् ।

युवालाई आकर्षित गर्न ‘अनलाइन खेलमा आधारित सम्पदा खोजौँ’ कार्यक्रम समावेश गरिएको छ भने टेवहाल मा साहित्यिक कार्यक्रम, खिचापोखरी मा सम्मान कार्यक्रम तथा धर्मपथस्थित सांस्कृतिक भवनमा चित्रकला प्रदर्शनी आयोजना हुनेछ ।

सांगीतिक कार्यक्रममा दीपक बज्राचार्य र उहाँको रिदम ब्याण्डसँगै कुटुम्ब को प्रस्तुति रहनेछ । साथै, धिमे बाजा प्रतियोगितालाई महोत्सवको मुख्य आकर्षणका रूपमा राखिएको छ ।

वडा कार्यालयका अनुसार महोत्सवले स्थानीय व्यापार, पर्यटन र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।