प्रशिक्षक आर्बेलोआप्रति खुसी छैनन् एमबाप्पे

काठमाडौं। स्पेनिस ला लिगामा बिहीबार भएको रियल मड्रिड र रियल ओभिएदोबीचको खेलपछि फ्रान्सेली स्टार किलियन एमबाप्पेले आफूलाई प्रशिक्षक आल्भारो आर्बेलोआले टोलीको चौथो रोजाइको स्ट्राइकर भनेको बताएका छन्।

ह्यामस्ट्रिङ चोटबाट निको भइसकेको बताएका एमबाप्पेले आफू सुरुदेखि खेल्न तयार भए पनि प्रशिक्षकले बेन्चमा राख्ने निर्णय गरेको बताए। ‘म पूर्ण रूपमा फिट छु। प्रशिक्षकले मलाई टोलीमा फ्रान्को मास्तान्तुओनो, भिनिसियस जुनियर र गोन्जालो गार्सियापछि चौथो स्ट्राइकर भनेका थिए। म त्यसलाई स्वीकार गर्छु। म सुरुदेखि खेल्न तयार थिएँ, तर त्यो प्रशिक्षकको निर्णय थियो। प्रशिक्षकप्रति रिसाउन मिल्दैन, उनको निर्णयको सम्मान गर्नुपर्छ। म मेहनत गरिरहन्छु र फेरि सुरुआती टोलीमा फर्किने प्रतीक्षा गर्नेछु,’ उनी भन्छन्।

तर, प्रशिक्षक आर्बेलोआले भने आफूले एमबाप्पेलाई कहिल्यै चौथो रोजाइको स्ट्राइकर नभनेको स्पष्ट पारे। उनले भने,‘मसँग चार जना स्ट्राइकर नै छैनन् र मैले एमबाप्पेलाई त्यस्तो केही भनेको पनि छैन। सायद उनले मेरो कुरा राम्रोसँग बुझेनन् होला। म उनलाई चौथो रोजाइको स्ट्राइकर भनेर कहिल्यै भन्दिनँ।’

यो विवाद रियलका लागि तनावपूर्ण साताको अर्को घटना बनेको छ। यसअघि प्रशिक्षणका क्रममा खेलाडीबीच झडप भएपछि क्लबले फेडेरिको भाल्भेर्दे र ओरेलियाँ चुआमेनीलाई ५ लाख युरो जरिबाना गरेको थियो। त्यसपछि आइतबार भएको ‘एल क्लासिको’ मा बार्सिलोनासँग २–० ले पराजित भएपछि बार्सिलोनाले ला लिगा उपाधि जितेको थियो।

क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफूलाई हटाउन संगठित अभियान चलाइएको आरोप लगाउँदै नयाँ निर्वाचनको मागसमेत गरेका छन्। ओभिएदोविरुद्धको खेलमा एमबाप्पे ६८औं मिनेटमा मैदान प्रवेश गर्दा सान्टियागो बेर्नाबेउका समर्थकले उनलाई हुटिङ गरेका थिए। उनले ७९औं मिनेटमा जुड बेलिङ्घमको गोलमा असिस्ट गर्दै रियललाई २–० को जित दिलाउन सहयोग गरेका थिए।

केही समर्थकले एमबाप्पे विश्वकपका लागि आफूलाई जोगाइरहेको आरोप लगाएका छन्। चोटका कारण विश्राममा रहेका बेला उनी अभिनेत्री एस्टर एक्सपोसितोसँग इटाली गएको खबर सार्वजनिक भएपछि स्पेनिस मिडियामा उनको ‘रिह्याब’प्रति गम्भीर नभएको आलोचना भएको थियो।

तर, एमबाप्पेले उक्त भ्रमणलाई सामान्य विषय भएको बताएका छन्। ‘मसँग क्लबको अनुमति थियो। म मात्र बाहिर गएको होइन। यस्ता कुरा स्वीकार गरेर अघि बढ्नुपर्छ। म यो परिस्थिति सजिलै बदल्न सक्छु,’ उनले भने।

दुई सिजनअघि ठूलो अपेक्षासहित रियल पुगेका एमबाप्पेले अहिलेसम्म समर्थकको अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्। उनी क्लबमा आएपछि रियलले कुनै ठूलो उपाधि जित्न सकेको छैन।