काठमाडौं। एफए कप फाइनलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले हराउँदै उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार भएको खेलमा निर्णायक गोल एन्टोइन सेमेन्योले गरेका हुन्।
१५५ वर्ष लामो एफए कप इतिहासमा यति साहसी र आकर्षक गोलबाट फाइनल जितिएको निकै कम उदाहरण पाइन्छ। खेलको ७२औं मिनेटमा एर्लिङ हालान्डको क्रसमा सेमेन्योले अद्भुत ब्याक–हिल प्रहार गर्दै बललाई गोलपोस्टको कुनामा पठाए।
चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन्। खेलभर धेरै रोमाञ्चक अवसर नदेखिएको अवस्थामा सेमेन्योको त्यो जादुमय गोलले फाइनललाई रोमाञ्चक बनाएको थियो।
जनवरीमा मात्रै बर्नमाउथबाट सिटीमा आएका उनले छोटो समयमै प्रभाव जमाउँदै १० गोल गरेका छन्। टोलीलाई दुई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
यस जितसँगै सिटी घरेलु ‘ट्रेबल’ जित्ने दौडमा कायम रहेको छ। टोलीले यसअघि नै इङ्लिस लिग कप जितिसकेको छ भने प्रिमियर लिगमा दुई खेल बाँकी हुँदा आर्सनलभन्दा दुई अंकले पछाडि दोस्रो स्थानमा छ।
प्रशिक्षक पेप ग्वार्डिओलाका लागि यो सिटीमा १० वर्षको अवधिमा १७औं ठूलो उपाधि हो भने समग्र प्रशिक्षकीय करियरको ३५औं ट्रफी हो। एफए कपमा सिटीको यो आठौं उपाधि पनि बनेको छ।
यससँगै सिटीले चेल्सी, लिभरपुल र टोटेनहमसँग संयुक्त रूपमा तेस्रो धेरै एफए कप जित्ने क्लबको स्थान बनाएको छ। उता चेल्सीका लागि भने यो सिजन निराशाजनक रह्यो। गत वर्ष क्लब विश्वकप जितेको टोली यसपटक उपाधिविना सिजन समाप्त गर्ने अवस्थामा पुगेको छ।
क्लबभित्रको अस्थिरताका कारण समर्थकहरूले खेलअघि अमेरिकी मालिकविरुद्ध प्रदर्शनसमेत गरेका थिए। चेल्सीले यस वर्ष दुई प्रशिक्षक हटाइसकेको छ र युवा टोलीका पूर्वप्रशिक्षक कालम म्याकफार्लेनले सातौं खेल मात्रै सम्हालिरहेका थिए।
सीमित अनुभव हुँदाहुँदै पनि उनले लामो समयसम्म ग्वार्डिओलाको टोलीलाई रोक्न सफल भए। तर, अन्ततः सेमेन्योको उत्कृष्ट गोलले खेलको फैसला गर्यो। फाइनलपछि सिटी समर्थकहरूले ‘ब्लु मुन’ गीत गाउँदै उत्सव मनाए। साथै बेर्नार्डो सिल्भा र जोन स्टोन्सलाई विशेष सम्मान दिइएको थियो। यी दुईले यस सिजनपछि क्लब छोड्दैछन्।
एफए कप इतिहासमा सबैभन्दा धेरै १४ पटक उपाधि जित्ने क्लब आर्सनल हो भने म्यानचेस्टर युनाइटेडले १३ पटक यो प्रतियोगिता जितेको छ।
