१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता

काठमाण्डाै – चालू आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म ७२८ वटा परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकोे हो ।

सबैभन्दा धेरै कृषिमूलक १६ वटा परियोजनामा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै पर्यटनमूलक क्षेत्रका १८९ वटा परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

सेवामूलक ५५ वटा परियोजनाका लागि ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै उत्पादनमूलक ४२ वटा परियोजनामार्फत २ अर्ब ७० करोड, पूर्वाधारका एउटा परियोजनामा १ अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

सबैभन्दा कम खनिजमूलक २ वटा परियोजनामा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

वैशाखमा मात्र ११३ परियोजनामार्फत ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ ।