काठमाडौं। फुटबल जगतमा एउटा नयाँ शक्तिको उदय भएको छ। मात्र १ लाख ५५ हजार जनसंख्या भएको सानो टापु राष्ट्र कुरासाओले फिफा विश्वकप २०२६ का लागि आफ्नो शक्तिशाली २६ सदस्यीय टोली घोषणा गर्दै विश्वमञ्चमा तहल्का मच्चाउने संकेत दिएको छ। ‘ब्लु वेभ’ उपनामले चिनिने यो टोलीले इतिहासमै पहिलो पटक विश्वकपको मुख्य चरणमा स्थान बनाएर सबैलाई स्तब्ध पारिसकेको छ।
टोलीको भित्री राजनीतिक उतारचढाव पनि निकै रोचक बनेको छ। डच प्रशिक्षक डिक एड्भोकाटले गत फेब्रुअरीमा पद छाडेपछि उनको स्थानमा फ्रेड रुटेन आएका थिए। तर, विश्वकपको संघारमा नाटकीय मोड लिँदै गत साता एड्भोकाट पुनः मुख्य प्रशिक्षकका रूपमा कमान्ड सम्हाल्न आइपुगेका छन्। उनको यो फिर्तीले टोलीमा नयाँ ऊर्जा थपेको छ।
कठिन मानिएको समूह ‘ई’ मा परेको कुरासाओले कोट डी आइभोर, इक्वेडर र जर्मनीजस्ता फुटबलका महाशक्तिहरूसँग भिड्नेछ। यस चुनौतीपूर्ण यात्राका लागि एड्भोकाटले छनोट चरणमा आगो ओकल्ने खेलाडीहरूलाई मैदानमा उतार्दै छन्। टोलीको रक्षापङ्क्तिको मुख्य जिम्मेवारी सबैभन्दा अनुभवी गोलरक्षक एलोय रुमसँगै जुरियन गारी र रोशन भान आइज्माको काँधमा रहनेछ, जसले विपक्षीका लागि बलियो पर्खाल खडा गर्नेछन्।
मिडफिल्ड र आक्रमणमा कुरासाओसँग विपक्षीको सातो उडाउने प्रतिभाहरू छन्। दाजुभाइ जोडी लिएन्ड्रो बाकुना र छनोट चरणमा तीन गोल गरेका जुनिन्हो बाकुनाले टोलीको मेरुदण्ड सम्हाल्नेछन् भने २२ वर्षीय युवा स्टार लिभानो कोमेनेन्सिया पेनाल्टी क्षेत्रमा आफ्नो घातक आक्रमणका लागि तयार छन्।
आक्रमणपङ्क्तिमा अनुभवी जुर्गेन लोकाडिया र जिअर्ल मार्गरिथासहित छनोट चरणमा संयुक्त रूपमा आठ गोल गरेका गर्भाने कास्टानेर र केन्जी गोरेको जोडीले विपक्षी डिफेन्डरहरूलाई पूर्ण दबाबमा राख्ने निश्चित छ। यसैगरी, सेप्टेम्बर २०२५ मा डेब्यु गरेर छोटो समयमै खेलको नक्सा बदल्न सक्ने क्षमता प्रमाणित गरिसकेका ताहित चोङ पनि टोलीका लागि ट्रम्प कार्ड बन्न सक्छन्।
