काठमाडौं। क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको विश्वकप टोलीमा समावेश गरिएको छ। यससँगै उनले कीर्तिमानी छैटौं पटक विश्वकप खेल्ने भएका छन्।
पोर्चुगलले पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित ४१ वर्षीय रोनाल्डोलाई टोलीमा राखेको हो। यो रोनाल्डोको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ। युरोप छोडेर साउदी अरेबियाको क्लब अल–नासरमा खेलेपछि उनको यो पहिलो विश्वकप हुनेछ।
रोनाल्डो र उनका महान् प्रतिद्वन्द्वी लिओनल मेसी विश्वकपको छैटौं संस्करण खेल्ने पहिलो पुरुष खेलाडी बन्न सक्नेछन्। प्रशिक्षक रोबर्टो मार्टिनेजले भने,‘क्रिस्टियानो रोनाल्डोबारे कुरा गर्दा हामी दुई व्यक्तित्व देख्छौं। विश्व फुटबलको एक प्रतीक र हाम्रो कप्तान। उनी टोलीभित्र अनुशासन, जिम्मेवारी र नेतृत्वको उत्कृष्ट उदाहरण हुन्।’
रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल (२२६) र गोल (१४३) गर्ने खेलाडी हुन्। साथै, उनी लगातार पाँच विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी पनि हुन्। रोनाल्डोले गत नोभेम्बरमा सिएनएनसँगको अन्तर्वार्तामा यो आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए।
टोलीमा जाओ फेलिक्स, बेर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज, नुनो मेन्डेस, भिटिन्हा, जाओ नेभेस र गोन्सालो रामोस पनि परेका छन्। विश्वकप नियमअनुसार अन्तिम टोलीमा बढीमा २६ खेलाडी मात्र राख्न पाइन्छ। तर, मार्टिनेजले गोलरक्षक रिकार्डो भेल्होलाई अतिरिक्त खेलाडीका रूपमा राखेका छन्। उनले आवश्यकता परे मात्र टोलीसँग यात्रा गर्नेछन्।
पोर्चुगल समूह ‘के’ मा कोलम्बिया, उज्बेकिस्तान र कंगोसँग परेको छ। पोर्चुगलले जुन १७ मा अमेरिकाको ह्युस्टनमा कंगोसँग पहिलो खेल खेल्नेछ। मार्टिनेजका अनुसार पोर्चुगल उपाधिको दाबेदार भए पनि मुख्य दाबेदार भने होइन। उनले भने, ‘विश्वकप राम्रो खेल वा प्रतिभाको कुरा होइन। जसले पहिले विश्वकप जितिसकेका छन्, उनीहरूलाई मात्र मुख्य दाबेदार भन्न सकिन्छ। तर हाम्रो टोलीको प्रतिभा र भावना हेर्दा हामी सपना देख्न सक्छौं।’
पोर्चुगलले हालै २०२५ नेशन्स लिगको उपाधि जितेको थियो। उसले सेमिफाइनलमा जर्मनी र फाइनलमा स्पेनलाई हराएको थियो। पोर्चुगलले जुन १ देखि विश्वकप तयारी सुरु गर्नेछ। टोलीले जुन ६ मा चिली र जुन १० मा नाइजेरियासँग अभ्यास खेल खेल्नेछ भने जुन १२ मा अमेरिका प्रस्थान गर्नेछ।
