कोशी प्रदेश सभा बैठकमा प्रतिपक्ष दलको विरोध

कोशी प्रदेश सभा बैठकमा प्रतिपक्ष दलले विरोध गरेका छन्। बुधबारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर प्रतिपक्षी दलले बैठक नै अवरूद्ध गरेका छन्।

सोही विषयलाई लिएर दलहरूले मङ्गलबार पनि बैठक अवरूद्द गरेका थिए। सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले अवरोध गर्दै आएका हुन्।

प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको आरोप लगाएका थिए। उनले सर्वसम्मत नभई बहुमतका आधारमा पारित भएको रेकर्ड हुनुपर्ने माग गरेका थिए।

अर्कोतर्फ, सभामुखले सो विषय रेकर्डमा रहने जानकारी दिँदै बैठक अघि बढाउन खोजेका थिए। प्रतिपक्षीको विरोध भइरहदा सभामुख विष्टले जनता समाजवादी पार्टीकी सांसद निर्मला तावा लिम्बुलाई बोल्ने समय दिएपछि नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई आक्रोशित भएका थिए। आक्रशित राईले विरोध गर्दै रोष्टमबाट माइक्रो फोन फाल्न खोजेका थिए।

जहाँ उनलाई मर्यादापालकहरूले रोकेका थिए। सभामुख विष्टले छलफलका क्रममा कसैले पनि संशोधन प्रस्ताव नराखेको र ‘हुन्न’ भन्ने आवाज नआएकाले नियमावली अनुसार नै सर्वसम्मति मानिएको दाबी गरे। प्रतिपक्षीको लगातारको अवराेध र रोष्टम घेराउका कारण बैठक आधा घण्टाका लागि स्थगित भएको थियो।यद्दपी, प्रतिपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म सदन अघि बढाउन नदिने अडान राख्दै आएका छन्।