काठमाडौं। विश्वकपको समूह ‘बी’ अन्तर्गत आइबार राति भएको खेलमा कतारले अन्तिम समयमा गोल गर्दै बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ को अप्रत्याशित बराबरी खेलेको छ।
यससँगै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ। लेभाइस स्टेडियममा ६७ हजारभन्दा बढी दर्शकमाझ भएको खेलमा स्विट्जरल्यान्ड जिततर्फ उन्मुख देखिएको थियो।
तर, इन्जुरी समयको चौथो मिनेटमा बुआलेम खोउखीले हेडमार्फत गोल गर्दै कतारलाई महत्त्वपूर्ण बराबरी दिलाए। गोलपछि कतारी खेलाडीहरू मैदानमै खुसीयाली मनाउन थाले भने समर्थकहरू उत्साहले भरिए।
स्विट्जरल्यान्डका कप्तान ग्रानिट झाकाले नतिजाप्रति निराशा व्यक्त गर्दै भने,‘हरेक बराबरी हारजस्तै महसुस हुन्छ। आजको प्रदर्शन जितका लागि पर्याप्त थिएन।’
खेलको १३औं मिनेटमा कतारका गोलरक्षक महमुद अबुनादाले ब्रिल एम्बोलोलाई फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। अबुनादाले पहेँलो कार्ड पनि पाए। १७औं मिनेटमा एम्बोलोले पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए।
त्यसपछि स्विट्जरल्यान्डले बलमा नियन्त्रण कायम राख्दै धेरै अवसर सिर्जना गरे पनि गोल संख्या बढाउन सकेन। कतारले रक्षात्मक अनुशासन कायम राख्दै खेलमा फर्किने अवसर खोजिरह्यो।
कतारका प्रशिक्षक जुलेन लोपेटेगुईले टोलीको संघर्षशील प्रदर्शनको प्रशंसा गर्दै भने,‘आजका खेलाडीहरूको मानसिकता र अनुशासनप्रति म गर्व गर्छु। कहिलेकाहीँ भाग्य पनि साथ दिनुपर्छ, तर त्यसका लागि विश्वास र मेहनत आवश्यक हुन्छ।’
खेलभरि स्विट्जरल्यान्डले दबाब बनाए पनि कतारले अन्तिम समयसम्म हार नमानी संघर्ष गर्यो। त्यसको फलस्वरूप इन्जुरी समयमा आएको गोलले कतारलाई ऐतिहासिक अंक दिलायो।
चार वर्षअघि घरेलु मैदानमा आयोजना गरेको विश्वकपमा समूह चरणका सबै खेल हारेको कतारका लागि यो नतिजा विशेष महत्त्वको मानिएको छ। यता, लगातार छैटौं विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड भने सहज जित गुमाउँदा निराश बनेको छ।
