काठमाडौं, –नेपालभाषाका चलचित्र, गीत तथा म्युजिक भिडियो क्षेत्रको प्रवर्द्धन र सर्जकहरूको सम्मान गर्ने उद्देश्यले आयोजित ‘पेजथ्री पिपल्स च्वाइस अवार्ड–११४६’ को पाँचौँ संस्करण कीर्तिपुरमा सम्पन्न भएको छ। पेजथ्री पाक्षिक पत्रिकाले विगत १६ वर्षदेखि आयोजना गर्दै आएको यो अवार्ड नेपालभाषा मनोरञ्जन क्षेत्रको प्रतिष्ठित सम्मानका रूपमा स्थापित हुँदै आएको छ।
गत शनिबार कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न अवार्ड समारोहमा नेपालभाषाको संगीत क्षेत्रमा आजीवन योगदान पुर्याएका वरिष्ठ गायक तथा अनुसन्धानकर्ता रामकृष्ण दुवाललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कुलभक्त शाक्यले सांस्कृतिक पक्षलाई समेट्ने अमूर्त सम्पदा विधेयक संघीय संसदबाट पारित भइसकेको जानकारी दिँदै कला, संस्कृति र भाषाको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपालभाषाका चलचित्र, गीत र म्युजिक भिडियोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारमा अवार्डले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अवार्डका निर्देशक तथा संयोजक दर्शनवीर शाक्यले सार्वजनिक मतदान र निर्णायक मण्डलको मूल्यांकनमार्फत नयाँ तथा पुराना पुस्ताका कलाकारलाई एउटै मञ्चमा सम्मान गर्ने अवसर सिर्जना भएको बताउनुभयो।
अवार्डमा चलचित्रतर्फ ‘लाखे आजु’ उत्कृष्ट चलचित्र घोषित भयो। ‘इन्दिरा धिमें मैंचा’ का सुरेन्द्र तुलाधर उत्कृष्ट निर्देशक चुनिँदा ‘झीगु कर्म’ का सुरज ब्यञ्जनकार उत्कृष्ट अभिनेता र ‘लाखे आजु’ की आशिष्मा नकःमि उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो।
चलचित्र विधामा प्रभात कुमार खेँ (झीगु कर्म) उत्कृष्ट सह-अभिनेता, शशिकला मानन्धर (झीगु कर्म) उत्कृष्ट सह-अभिनेत्री तथा पवन जोशी (झीगु कर्म) उत्कृष्ट खलनायक घोषित भए। मनोज महर्जन (तिबः–द सपोर्ट) उत्कृष्ट उदीयमान अभिनेता र सिम्रिक श्रेष्ठ (इन्दिरा धिमें मैंचा) उत्कृष्ट उदीयमान अभिनेत्री चुनिए। सोहन मानन्धरले ‘बहिदार बाबु’ बाट उत्कृष्ट सम्पादन, विज्ञान पक्काले ‘गालय् वन’ बाट उत्कृष्ट संवाद तथा लक्ष्मण सेन्चुरीले ‘बहिदार बाबु’ बाट उत्कृष्ट द्वन्द्व निर्देशनको अवार्ड प्राप्त गरे। ‘लाखे आजु’ का सुशान्त प्रजापति र दिपेन बस्न्यात उत्कृष्ट छायांकनतर्फ सम्मानित भए भने ‘तिबः–द सपोर्ट’ को ‘मन छंके सुलाच्वन’ उत्कृष्ट ओरिजनल साउन्ड ट्र्याक (OST) घोषित भयो।
संगीततर्फ ‘जितः यःम्ह’ गीतका गायक मथुरा महर्जन उत्कृष्ट पुरुष आवाज र ‘वैगु नुगलय्’ गीतकी कविता जोशी उत्कृष्ट महिला आवाज घोषित भए। रोजमान महर्जन र भिंतुना जोशी क्रमशः उत्कृष्ट उदीयमान पुरुष तथा महिला आवाज बने। आधुनिक गीततर्फ बिजेन्द्र चवाल र दीपा महर्जन उत्कृष्ट पुरुष तथा महिला आवाज चुनिए।
राजकुमार मानन्धर र निशा देशारको ‘छंगु मतिना’ उत्कृष्ट युगल गीत घोषित हुँदा रत्नसंभव शाक्य र सुमन मानन्धरको ‘न्हिले थें न्हिले थें’ उत्कृष्ट आधुनिक युगल गीत बन्यो। समा डंगोल र एलेन शाहीको ‘यचुगु जिगु मन’ उत्कृष्ट उदीयमान युगल गीत घोषित भयो। अमृतरत्न शाक्य उत्कृष्ट गीतकार, राजकुमार मानन्धर उत्कृष्ट संगीतकार तथा जिवित जल्मि उत्कृष्ट संगीत संयोजक घोषित भए। सुरेन्द्र श्रेष्ठको ‘सः जिगु’ उत्कृष्ट गीत तथा सानुबाबु महर्जनको ‘नुगःया मिखां’ उत्कृष्ट एल्बम घोषित भयो।
म्युजिक भिडियोतर्फ ‘येँया पुन्हि’ (इन्द्रजात्राको पूर्णिमा) उत्कृष्ट म्युजिक भिडियो घोषित भयो। रामकृष्ण खड्गी उत्कृष्ट निर्देशक, सुदित श्रेष्ठ उत्कृष्ट पुरुष मोडल तथा रोजिना सुवाल उत्कृष्ट महिला मोडल घोषित भए। मनोज महर्जन र श्रीतिका श्रेष्ठ उत्कृष्ट उदीयमान मोडल चुनिए। रजीन महर्जन उत्कृष्ट क्यामरा पर्सन, दिनेश महर्जन उत्कृष्ट सम्पादक, नानुमैयाँ महर्जन उत्कृष्ट कोरियोग्राफर तथा रुपा मानन्धर उत्कृष्ट मेकअप आर्टिस्ट घोषित भए। ‘यज्जु छ बांलाः’ उत्कृष्ट भेषभूषा र ‘जिगु गर्व’ उत्कृष्ट कन्सेप्चुअल म्युजिक भिडियोको रूपमा सम्मानित भयो।
समारोहमा भिडियो फिल्म ‘निपाः ख्वापाः’, ‘चिपनीप’, ‘चरित्र’ र ‘न्हिलाः न्हिलाः हुँ’ का निर्माताहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। नेपालभाषाको गीत ‘आयला…आयला…आयला…’ र एनिमेसन फिल्म ‘जय लाखे’ लाई जुरी मेन्सन अवार्ड प्रदान गरिएको थियो। त्यसैगरी जापान निवासी कारेन शाक्यलाई ‘पेजथ्री हपाः अवार्ड’ तथा संगीतकार जुगल डंगोललाई ‘पेजथ्री सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपालभाषाको चलचित्र, गीत र म्युजिक भिडियो क्षेत्रका सर्जक तथा कलाकारलाई सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यो अवार्डको पहिलो संस्करण नेसं ११३० मा आयोजना गरिएको थियो। त्यसपछि नेसं ११३३, ११३७ र ११४२ मा क्रमशः दोस्रो, तेस्रो र चौथो संस्करण सम्पन्न भएका थिए।
यस वर्षको अवार्डका लागि नेसं ११४२ कौलागा चौथीदेखि नेसं ११४६ बछलागा पारूसम्म सार्वजनिक भएका कृतिहरूलाई सहभागी गराइएको थियो। अवार्डको अन्तिम नतिजा ६० प्रतिशत निर्णायक मण्डलको मूल्यांकन र ४० प्रतिशत सार्वजनिक मतदानका आधारमा तय गरिएको आयोजकले जनाएको छ।
