तेह्रथुम- जिल्ला प्रहरी कार्यालय तेह्रथुमले किर्ते दस्तखत गरी बैंक खाताबाट रकम निकासा गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला खेलकुद विकास समिति तेह्रथुमका सदस्य सचिवको किर्ते दस्तखत प्रयोग गरी नेपाल बैंक लिमिटेडमा रहेको रु. २५ लाख ७९ हजार ६ सय ९६ रकम मार्फत अन्य खातामा ट्रान्सफर गरी निकासा गरेको आरोपमा पूर्व अध्यक्ष राजेन्द्र बराल पक्राउ परेका हुन्।
बराल विरुद्ध असार ४ गते दस्तखत किर्ते सम्बन्धी मुद्दा दर्ता भएको थियो। तेह्रथुम जिल्ला अदालतबाट सोही दिन पक्राउ पुर्जी जारी भएपछि प्रहरीले राजेन्द्र बराललाई साँझ ५:३० बजे पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
