मध्यकालीन नेपाली बौद्ध चित्रकलाबारे डा. नरेश शाक्यको पुस्तक सार्वजनिक

मध्यकालीन नेपाली बौद्ध चित्रकलाको प्रभाव र विकासलाई उजागर गर्ने डा. नरेश शाक्यद्वारा लिखित ‘मेडिभल बुद्धिस्ट पेन्टिङ्स अफ नेपाल: इन्फ्लुएन्स इन मुस्ताङ, तिब्बत, दुनहुआङ एन्ड लद्दाख’ नामक पुस्तक शनिबार काठमाडौंको धोखाइमा क्याफेमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, कलाकार, सांस्कृतिक अभियन्ता, पुस्तक व्यवसायी, कूटनीतिज्ञ तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। पुस्तकले मध्यकालीन नेपालको बौद्ध चित्रकलाका साथै मुस्ताङ, तिब्बत, दुनहुआङ र लद्दाख क्षेत्रमा देखिने नेपाली, विशेषतः नेवाः कलाकारहरूको प्रभावलाई विस्तृत रूपमा प्रस्तुत गरेको छ।

समारोहका प्रमुख अतिथि दुंग्से ग्येत्रुल जिग्मे रिन्पोछे तथा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य थिए। विशेष अतिथिका रूपमा शैलेन्द्रमान बज्राचार्य, राजेश शाक्य, प्रा. डा. शंकर थापा, सुजीव शाक्य तथा प्रवीणकुमार चित्रकारले पुस्तकको विमोचन गर्दै यसको शैक्षिक महत्व र नेवाः कला परम्पराको अध्ययनमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

लेखक डा. नरेश शाक्यले पुस्तक तयार पार्न सहयोग गर्ने व्यक्ति, संस्था, सहकर्मी तथा परिवारप्रति आभार व्यक्त गर्दै परम्परागत कला–सीपको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणको आवश्यकतामा जोड दिए। उनले अक्षेश्वर ट्रेडिसनल बौद्ध आर्ट कलेजले परम्परागत बौद्ध कला संरक्षण तथा युवा पुस्तालाई सीप हस्तान्तरणमा खेलेको भूमिकाबारे पनि प्रकाश पारे।

प्रमुख अतिथि दुंग्से ग्येत्रुल जिग्मे रिन्पोछेले बौद्ध साधनामा परम्परागत बौद्ध कलाको महत्वबारे चर्चा गर्दै तिब्बती बौद्ध धर्म र समाजमा नेवाः कलाकारहरूको ऐतिहासिक योगदान उल्लेख गरेका थिए।

कार्यक्रम पुस्तकको औपचारिक विमोचन, अन्तरक्रिया तथा लेखकद्वारा पुस्तक हस्ताक्षर सत्रसँगै सम्पन्न भएको थियो।

डा. नरेश शाक्यले सन् २०१७ मा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) प्राप्त गरेका हुन्। उनको अनुसन्धान काठमाडौं उपत्यकाको बौद्ध कलाले मुस्ताङ, तिब्बत, दुनहुआङ र लद्दाखका गुफा तथा गुम्बाहरूमा पारेको प्रभावमा केन्द्रित रहेको थियो। उनले ती क्षेत्रका दुर्गम स्थलहरूको भ्रमण गरी नेवाः कलात्मक प्रभावको अध्ययन गरेका छन्।

सन् २००८ देखि लोटस एकेडेमिक कलेजमा बौद्ध कला विषय अध्यापन गर्दै आएका डा. शाक्य लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यावारिधि शोधार्थीहरूलाई पनि मार्गदर्शन गर्दै आएका छन्। उनी पुल्चोकस्थित अक्षेश्वर महाविहार परिसरमा रहेको अक्षेश्वर ट्रेडिसनल बौद्ध आर्ट कलेजका संस्थापक प्राचार्य हुन्।

नेवाः बौद्ध धर्म तथा काठमाडौं उपत्यकाको बौद्ध कलासम्बन्धी अनुसन्धान, प्रवचन र कार्यशालामा सक्रिय डा. शाक्य परम्परागत नेवाः कलाकार परिवारबाट आएका हुन्, जसको पुस्तौंदेखि बौद्ध कला र धार्मिक सामग्रीको व्यवसायसँग सम्बन्ध रहेको छ।