काठमाडौं। ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको दोस्रो खेल पनि गुमाउने भएका छन्।
ब्राजिलियन फुटबल महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा नेयमार समूह ‘सी’ अन्तर्गत हाइटीविरुद्धको खेलका लागि टोलीसँग फिलाडेल्फिया नजाने जनाएको छ।
पिँडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण उनी हाइटीविरुद्धको खेलमा उपलब्ध नहुने भएका हुन्।
महासंघका अनुसार उनी उपचार र पुनर्स्थापनाको अन्तिम चरणलाई प्रभावकारी बनाउन न्यु जर्सीमै रहनेछन्।
नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्। उनले ब्राजिलका लागि ७९ गोल गरेका छन्। ब्राजिलका महान् फुटबलर पेलेको ७७ गोलको कीर्तिमानलाई उनले पछि पारेका हुन्।
महासंघले ३४ वर्षीय नेयमारले टोली बसेको होटलका प्रशिक्षण सुविधामा आफ्नो पुनर्स्थापना प्रक्रिया जारी राख्ने जनाएको छ।
नेयमार मंगलबार पहिलो पटक प्रशिक्षण मैदानमा फर्किएका थिए। उनले शारीरिक तन्दुरुस्तीसम्बन्धी अभ्यास गरेका थिए।
बुधबार भने उनी प्रशिक्षणको केही भागमा टोलीका अन्य खेलाडीसँग सहभागी भएका थिए। मैदानमा प्रवेश गर्दा टोलीका साथीहरूले उनलाई ताली बजाएर स्वागत गरेका थिए।
यद्यपि, ब्राजिलको प्रशिक्षण शिविरमा सामेल भएयता उनले टोलीसँग पूर्ण प्रशिक्षण सत्रमा सहभागी हुन पाएका छैनन्। उनी दायाँ खुट्टाको चोट बोकेर राष्ट्रिय टोलीमा आएका थिए।
चौथो विश्वकप खेल्ने लक्ष्य राखेका नेयमारको दायाँ पिँडुलामा लागेको चोटको अवस्थाबारे सोमबार परीक्षण गरिएको थियो। उनलाई गत मे १७ मा सान्तोसबाट खेल्ने क्रममा उक्त चोट लागेको थियो।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले प्रतियोगिताको सुरुआती खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो।
सन् २०१४ मा आफ्नै भूमिमा पहिलो विश्वकप खेलेका नेयमारलाई प्रशिक्षक कार्लो एन्सेलोटीले विश्वकप टोलीमा समावेश गरेपछि ब्राजिलमा उनको चयनबारे व्यापक बहससमेत भएको थियो।
