डेनिज उन्डाभको इन्जुरी समयको गोलमा चारपटकको विश्व च्याम्पियन जर्मनीले नकआउट चरणमा स्थान बनाएको छ। आइभरी कोस्ट विरुद्ध उत्कृष्ट पुनरागमन गर्ने क्रममा सब्स्टिच्युट उन्डाभले दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा स्थान पक्का गराए। २-१ को जितसँगै जर्मनी अन्तिम खेल अगावै नकआउटचरणमा स्थान बनाउन सफल भयो।
खेलको ३०औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्राङ्क केस्सीले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि जर्मनी लामो समयसम्म बराबरी गोलका लागि संघर्षरत रह्यो।
जर्मनीका प्रशिक्षक युलियन नागेल्समानले दोस्रो हाफमा बेन्चका खेलाडीहरूलाई मैदानमा उतारेर खेलको गति परिवर्तन गर्ने प्रयास गरे र उनको यो रणनीति सफल सावित भयो। यद्यपी आइभरी कोस्टले दोस्रो हाफमा पनि केही राम्रा मौकालाइ सदुपयोग गर्न असफल भएको थियो।
खेलमा फर्किने क्रममा ६८औं मिनेटमा वैकल्पिक खेलाडी नादिम अमिरीको उत्कृष्ट क्रसलाई डेनिज उन्डाभले आकर्षक फिनिसिङ गर्दै जर्मनीलाई खेलमा फर्काए। त्यसपछि खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा उन्डाभले ६ मिनेट थप गरिएको इन्जुरी समयको चौथो मिनेटमा निर्णायक गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाए।
उन्डाभको यो प्रदर्शनले आइभरी कोस्टलाई निकै पीडादायी हार बेहोर्न बाध्य बनायो भने जर्मनीलाई अन्तिम ३२ मा पुर्यायो। यद्यपी आइभरी कोस्टले अन्तिम खेलमा कुरासाओसँग खेल्ने भएकाले उसको पनि शीर्ष ३२ को सम्भावना कायमै छ।
यसअघि कुरासाओविरुद्धको उद्घाटन खेलमा जर्मनीले ७-१ को फराकिलो जित हासिल गर्दा पनि उन्डाभले बेन्चबाट मैदान प्रवेश गर्दै एक गोल गरेका थिए। दुई गोलका लागि अवसर सिर्जना गरेका थिए। लगातार दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै उनले जर्मनीका लागि महत्वपूर्ण ‘सुपर सब’को भूमिका निर्वाह गरेका छन्।
