प्रश्नपत्र बाहिएको घटनामा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै युवाहरूले गरेको आन्दोलनका कारण भारतको राजधानी नयाँ दिल्ली तनावग्रस्त बनेको छ।
कक्रोच जनता पार्टीको नेतृत्वमा हजारौँ युवाहरूले सोमबार दिल्लीको जन्तरमन्तरदेखि संसद् भवनसम्म मार्च गरेका छन्। प्रदर्शनकारीहरू संसद् भवन छिर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केही प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको बताइएको छ।
प्रदर्शनलाई लक्षित गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीले युवाहरूलाई जन्तरमन्तरमै रोक्ने प्रयास गरे पनि ब्यारिकेट तोडेर उनीहरू अघि बढेका थिए।
शिक्षामन्त्रीको राजीनामा माग गर्दै अभियन्ता सोनम वाङुचुक तीन सातादेखि अनसनमा छन्। अनसनकै क्रममा उनलाई जुलाई १८ मा प्रहरीले जन्तरमन्तरबाट नियन्त्रणमा लिएर अस्पताल पुर्याएको थियो। शान्तिपूर्ण आन्दोलनमा सरकारले हस्तक्षेप गरेको भन्दै वाङचुकको समर्थनमा हजारौँ युवाहरू आइतबार रातभर जन्तरमन्तरमै बसेका थिए।
वाङचुकलाई सरकारले नियन्त्रणमा लिएपछि कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्केले पनि अनसन सुरु गरेका थिए। अभिजीतले प्रदर्शनका क्रममा अनसन तोडेका छन्।
युवाहरूलाई साथ दिन बलिउड अभिनेत्री सवाना आजमी, अभिनेता प्रकाश राजलगायत विभिन्न राजनीतिक दलका नेताहरू पनि मार्चमा सहभागी भएका छन्।
