काठमाण्डौ — प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यममाथि कारबाही थालेको छ ।
अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचारसमेत गरेको छ ।
काउन्सिलका अनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिइएकोमा १० वटा सञ्चारमाध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन् ।
पटकपटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ ।
यस्तै दर्ता प्रक्रियामै नआई सञ्चालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अरु ७ वटा सामाजिक सञ्जालका पेजविरुद्ध भने आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरोमा पत्र पठाएको काउन्सिलले जनाएको छ ।
