नारायण परिवार क्लबको ५१औँ वार्षिक उत्सव सम्पन्न, स्व. चक्रमान डंगोलको नाममा सभाकक्ष उद्घाटन

नारायण परिवार क्लबले गत शनिबार आफ्नो ५१औँ वार्षिक उत्सव विविध औपचारिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

उक्त अवसरमा प्रमुख अतिथि महर्जनले क्लब भवनस्थित सभाकक्षलाई क्लबका पूर्व अध्यक्ष स्वर्गीय चक्रमान डंगोलको नाममा नामकरण गर्दै उद्घाटन गर्नुभएको थियो। साथै, क्लबको स्वर्ण जयन्तीका अवसरमा स्थापना गरिएको शिलापत्रको पनि अनावरण गर्नुभयो।

कार्यक्रममा ज्यापु महागुथि नेपाःका अध्यक्ष सत्यनारायण डंगोल, वडा सदस्य पुष्परत्न प्रजापति, महिला बौद्ध समूहकी अध्यक्ष श्रीमिला सुवाल, मिसा लिधंसा पुचःकी अध्यक्ष गंगादेवी डंगोल, रुद्र विनायक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष श्रीकृष्ण खड्गी, क्लबका कार्यसमिति सदस्य द्वारिकामान महर्जन, परम्परागत धर्मचक्र तःननी खलःका अध्यक्ष तीर्नारायण महर्जन तथा क्लबका सल्लाहकार निर शाक्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसै बीच  सम्बोधनका क्रममा वडाध्यक्ष महर्जनले नारायण परिवार क्लबलाई काठमाडौं महानगरपालिका–१२ भित्रका सक्रिय र उदाहरणीय सामाजिक संस्थामध्ये एक भएको उल्लेख गर्दै सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा समुदाय विकासमा क्लबले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले स्वर्गीय चक्रमान डंगोलप्रति सम्मान व्यक्त गर्दै सभाकक्षलाई उहाँकै नामबाट नामकरण गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो।

कार्यक्रममा काठमाडौं महानगरपालिका–१२ का वडा सदस्य नानीहेरा डंगोल, परम्परागत ओन्दे त्वाः खलःका अध्यक्ष पूर्णमान महर्जन, ज्यापु संस्कृति विकास कोषका महासचिव रमेश महर्जन, चक्रमान डंगोल स्मृति प्रतिष्ठानका सचिव चमितमान डंगोल तथा खोल्चापाखा स्पोर्ट्स क्लबका अध्यक्ष न्हुछे खड्गीलगायत विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका सदस्य–सचिव सन्तकुमार महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।