नुवाकोट — नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा एउटै घरभित्र २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार सोमबार उक्त घरमा खोजी गर्ने क्रममा २४ वटा शव फेला परेका हुन्।
प्रहरीका अनुसार शव फेला परेको घरमा मंगलबार पनि खोज तथा उद्धार कार्य जारी छ। घरभित्र थप मानिस फसेका वा शव हुन सक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचान तथा विस्तृत विवरण भने खोजी कार्य पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ।
प्रहरीका अनुसार उक्त घर होटल वा गेस्ट हाउसजस्तो देखिए पनि घरधनी तथा भवनको वास्तविक प्रयोजनबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन। घटनास्थलमा सुरक्षा निकायले थप अनुसन्धान तथा खोजी गरिरहेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् भने विभिन्न स्थानबाट शव फेला पर्ने क्रम अझै जारी छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। विशेषगरी रसुवाका विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा अन्य संरचनामा फसेका व्यक्तिहरूको उद्धार प्रयास अझै जारी रहेको बताइएको छ।
रसुवा र नुवाकोटबाट बाढीले बगाएर लगेका शवहरू विभिन्न स्थानमा फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ।
सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जीवित व्यक्तिको उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा प्रभावित परिवारको उद्धार र राहत व्यवस्थापनलाई पनि समानान्तर रूपमा अघि बढाइएको छ।
