रसुवाका बाढीपीडितप्रति काठमाडौंमा ऐक्यबद्धता ¥याली

रसुवा जिल्लाको भोटेकोशी र खोलामा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौंमा ऐक्यबद्धता ¥याली आयोजना गरिएको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्न तथा प्रभावित नागरिकहरूको खोजी, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सुझाब दिने उद्देश्यले ¥याली आयोजना गरिएको थियो ।

२०८३ साल भाद्र १० गते बुधबार आएको बाढीका कारण रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण धेरै नागरिकले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन्। प्रभावित, घाइते तथा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको समेत खोजी तथा उद्धार कार्य जारी रहेको छ।

देशमा उत्पन्न भएको यस आकस्मिक विपद्को अवस्थामा काठमाडौं उपत्यकाबाट पीडित नागरिकहरूप्रति साथ र ऐक्यबद्धता जनाउँदै आइतबार ¥याली निकालिएको हो।

उपत्यकाको स्थानीयको योजनामा सुरु भएको ¥यालीमा ठूलो संख्यामा नेवा: तथा गैरनेवा:नागरिकहरूको सहभागिता रहेको थियो। ¥यालीको नेतृत्व काठमाडौंको बसन्तपुरबाट आदिवासी जनजाती अधिकारकर्मी मल्ल के. सुन्दर, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, पूर्व मन्त्रि राजेन्द्र श्रेष्ठ, भीमसेनदास प्रधान, मुक्ति प्रधान, डा. पुष्पराज राजकर्णिकार, नवीन मानन्धर, नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापति, नेपालभाषा मंकाः खलःका अध्यक्ष रमेश पिया, न्हूदँ समारोह समितिका अध्यक्ष प्रेमहिरा तुलाधर, न्हूदँ संरक्षण समाजका संयोजक प्रा.डा. नरेशमान बज्राचार्यलगायत विभिन्न जातीय खलः पुचःका अध्यक्षहरूले ऐक्यबद्धता जनाएका थिए।

¥याली बसन्तपुरबाट हनुमानढोका, मखन, वंगः, केलटोल, असन, कुनाटोल हुँदै शान्तिबाटिकामा पुगेर श्रद्धाञ्जली तथा ऐक्यबद्धता सभामा परिणत भएको थियो।

सभामा ऐक्यबद्धता सभामा मल्ल के. सुन्दरले उपत्यकाका नागरिकहरूको तर्फबाट ऐक्यबद्धता पत्र वाचन गर्नुभएको थियो। पत्रमार्फत बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा राज्य र जनताका तर्फबाट तत्काल गर्नुपर्ने विभिन्न कार्यहरूतर्फ सरकारको ध्यानाकर्षण गराइएको थियो।

सभामा बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो। मृतकहरूको प्रतीकका रूपमा राखिएको दीपमा ¥यालीमा सहभागीहरूले धूप तथा खादा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

धार्मिक परम्पराअनुसार प्रार्थना

मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै विभिन्न धार्मिक परम्पराअनुसार धार्मिक पाठ तथा प्रार्थनासमेत गरिएको थियो। भिक्षु कौण्डन्य महास्थवीर, धर्मकीर्ति विहारकी खेमावती गुरुमाँ, नेपाल परम्परागत बौद्धधर्म संघका प्रा.डा. नरेशमान बज्राचार्य तथा राजोपाध्याय समाजका राजीव राजोपाध्यायलगायतले धार्मिक पाठ तथा प्रार्थना गर्नुभएको थियो।

बसन्तपुरबाट सुरु भएको ¥यालीमा सहभागी नागरिकहरूले धूप तथा दीप बालेर बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर बाढीपीडित तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका थिए।

रसुवामा भएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको खोजी तथा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा ¥यालीका सहभागीहरूले जोड दिएका छन्। साथै, विपद्को समयमा राज्य, नागरिक समाज तथा आम नागरिकबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने सन्देशसमेत ¥यालीले दिएको छ।