काठमाण्डौ उपत्यकामा ग्यासको चरम अभाव

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ ।

साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीडित बनेका छन् ।

काठमाण्डौ उपत्यकामा ग्यास सिलिन्डर भर्ने १९ वटा प्लान्ट भए पनि कृष्णभीरमा सडक अवरुद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन् ।

व्यवसायीहरूले हेटौँडा, वीरगञ्ज, नवलपरासी र धनुषालगायतका ठाउँबाट ग्यास भरेर उपत्यकामा ल्याइरहेका छन् ।

वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न भनेको छ । तर उपभोक्ताहरूले तोकिएको बढेको मूल्य तिर्न तयार हुँदा पनि सहजै ग्यास पाउन सकेका छैनन् ।

नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत ३० हजार सिलिन्डरमात्र भित्रिइरहेको छ ।

ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारलगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानैदेखि सिलिन्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ ।

उपभोक्ता अधिकारवादी सङ्घ–संस्थाले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन् ।