काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनुको स्मरण गर्दै आक्रोशलाई निराशामा परिणत हुन नदिई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न आह्वान गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उनले उक्त आन्दोलन वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता र कुशासनविरुद्ध युवा पुस्ताको शान्तिपूर्ण तर दृढ सङ्कल्पको विस्फोट भएको बताएका छन्।
मंगलबार आन्दोलनको एक वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै परिवर्तनका लागि अब देशमा कसैको पनि रगत बग्न नहुने जनाए। उनले कुनै आमाको काख रित्तिन नहुने उल्लेख गर्दै उनले आन्दोलनका घाइतेहरूको पूर्ण उपचार, उचित हेरचाह र दीर्घकालीन पुनस्र्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्नेमा जोड दिएका छन्।
आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरण भएको स्पष्ट पार्दै उनले यसलाई कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने चेतावनी दिएका छन्।
डिजिटल युगमा हुर्किएको र विश्वव्यापी चेतना बोकेको यो पुस्ताले देशभित्रै भविष्य खोजेको भन्दै हिजो सडकबाट युवाहरूले सोधेका प्रश्नहरूको जवाफ दिने ठाउँमा आज आफूहरू पुगेको र भोलि फेरि जवाफ माग्न कोही उभिने कुराको बोध आफूलाई रहेको उनले उल्लेख गरेका छन्।
सन्देशको अन्त्यमा उनले आम जनसमुदाय तथा नागरिक समाजलाई नेतृत्वको कार्यसम्पादनमा निरन्तर रचनात्मक खबरदारी र निर्मम समीक्षा जारी राख्न अपिल गरेका छन्।
लामिछानेले जागरणको आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने सङ्कल्प व्यक्त गरेका छन्।
