काठमाडौं, भदौ ३१ — बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा जलविद्युत आयोजनाका टनेलभित्र बेपत्ता भएकाहरूको खोजीसमेत भइरहेको नेपाली सेनाले जनाएको छ। लाङ्गटाङ्ग जलविद्युत आयोजनाको टनेलमा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ।
चिलिमे हाइड्रोको टनेलमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले आज टनेलमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा चार वटा शव र एक मानव अङ्ग फेला पारेको छ। फेला परेका शव तथा मानव अङ्गलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। यसअघि भदौ १५ गते पनि सोही टनेलबाट एक शव र एक मानव अङ्ग फेला परेको थियो।
त्यसैगरी, माथिल्लो त्रिशूली–१ को टनेलमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ ए को टनेल तथा पावर हाउस क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।
त्रिशूली–३ बी मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरी खोजी गरिरहेको छ। आयोजनाको आवास क्षेत्रमा दुई वटा आवासीय भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ। उक्त क्षेत्रमा खोजी कार्य जारी छ।
प्रभावित क्षेत्रको खोज तथा उद्धार, राहत र अन्य आवश्यक कार्यका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका स्थानमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुवेशी क्षेत्रमा तीन वटा समूह परिचालन गरिएको छ। साँघुरा टनेलको रेकी तथा प्रभावित क्षेत्रमा खोज, मूल्याङ्कन र निरीक्षण गर्नुका साथै दुर्गम तथा सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा राहत सामग्री पुर्याउन ड्रोनको समेत प्रयोग गरिएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज ४५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म ती केन्द्रबाट ३ हजार ९३४ जनाले स्वास्थ्य सेवा लिइसकेका छन्।
यसैबीच, बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजारमा सडक खुलाउने काम जारी छ। सडकको भित्तातर्फ रहेको कडा चट्टान फुटाउन ब्लास्टिङको काम भइरहेको छ। चिलिमे क्षेत्रमा विद्युत् प्रवाहका लागि तार बिछ्याउने कामसमेत गरिएको नेपाली सेनाले जनाएको छ।
