नेपाल संवत् न्हूदँ संरक्षण समाज र नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४६ को आयोजनामा पूर्व महिला अध्यक्षहरूलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले शनिबार सम्मान गर्नुभएको छ।
न्हूदँ राष्ट्रिय समारोह समिति ११४६ की अध्यक्ष सह-प्राध्यापक प्रेमहीरा तुलाधरको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिमा बहुदलपछिका प्रथम अध्यक्ष प्रा. प्रेम शान्ति तुलाधर, प्रा. डा. चुन्दा बज्राचार्य, डा. सुमित्रा मानन्धर गुरुङ र कानुन व्यवसायी सत्यभामा माथेमालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेपालभाषा साहित्यको इतिहासको स्मरण गर्दै विगतमा अग्रजहरूले गर्नुभएको भाषिक तथा साहित्यिक आन्दोलनलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर डंगोलले पुनः स्मरण गर्नुभयो।
नेपाल संवत् १११३ मा स्थापना भएको यस समितिमा उहाँहरूको भाषिक, शैक्षिक, साहित्यिक तथा सांस्कृतिक योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको हो।
आफ्नो मन्तव्य राख्ने क्रममा विगत ३५ वर्षसम्म पद्म कन्या क्याम्पसमा अध्यापन गर्नुका साथै पाँच वर्षसम्म नेपालभाषा केन्द्रीय विभागको प्रमुख भई काम गर्नुभएकी प्रा. तुलाधरले नेपाल संवत् मात्र देशको नाममा रहेको एकमात्र संवत् भएको बताउनुभयो।
त्यसैगरी, नेपाल संवत्लाई राष्ट्रिय संवत् र शंखधर शाख्वाःलाई राष्ट्रिय विभूति घोषणा गराउन सकिनु नै नेपालभाषा आन्दोलनको ठूलो उपलब्धि भएको नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले बताउनुभयो।
