काठमाण्डौ – कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदानको समय ३ घण्टा पर सारिएको छ ।
यसअघि बिहान १० बजेदेखि मतदान शुरु गर्ने भनिए पनि चुनावको तयारी पूरा नभएपछि मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको निर्वाचन समितिका सदस्य राजु कटुवालले बताउनुभयो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि तीन ठाउँमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको हो । राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र राखिएको छ ।
सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । प्रज्ञा–प्रतिष्ठानमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन् । प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ ।
