नेपालभाषाको चलचित्र “ख्याः वल” कार्तिक १२ गते कीर्तिपुर सिनेप्लेक्समा

दशैँ फुलपातीको अवसरमा ज्यासः फिल्म्सको ब्यानरमा निर्माण भएको नेपालभाषाको चलचित्र “ख्याः वल” ज्यापु समाजको हालमा प्रिमियर भएको छ। नेपालभाषाको चलचित्र क्षेत्रमा युवा जमातको ध्यान तान्न सफल यस समूहले उक्त दिन प्रिमियर गरी ४ वटा शाे गरेको थियो। प्रिमियर गरिएको उक्त दिन हजारौं दर्शकले चलचित्र हेरेका थिए ।

कमेडी तथा थ्रिलरयुक्त यस चलचित्र हेरेपछि युवा दर्शकहरुले फिल्म निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । ज्यासः फिल्म्सको प्रमुख आशुतोष बाराहीले सिनेमा निकै मेहनत गरेर बनाएको र आफ्नो टिमलाई साथ दिँदै नेपालभाषाको चलचित्र क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्न सबैलाई अपील गर्नुभएको छ ।

जेनीश शाक्यको निर्देशन रहेको यस फिल्ममा आशुतोष बाराही, सञ्जना महर्जन, जेनिस शाक्य, अर्पण तामाङ, मनोज महर्जन, नितेश तण्डुकार, इरा महर्जन र सृष्टि महर्जनको बेजोड अभिनय हेर्न सकिन्छ। यस चलचित्रमा मनोज महर्जनले सहायक निर्देशन गरेका छन् भने पटकथा शिवानी बज्राचार्यको रहेको छ। चलचित्रमा फोटोग्राफी निर्देशक अबिन शाक्य, सहायक छायांकन अनिकेत शाही, सम्पादक आशुतोष बाराही, सहायक सम्पादक र निर्माण निरिश महर्जन रहेका छन्।

अब आउने ने.सं. ११४४ कौलागाः एकादशी ,सोमबार (कार्तिक १२ गते) कीर्तिपुर सिनेप्लेक्समा प्रदर्शन हुन लागेको र पछि अमेरिका,अस्ट्रेलिया ,युकेमा पनि स्क्रीनिङ हुन लागेको जानकारी न्यूज नेपा:लाई आशुतोष बाराहीले दिनुभयो ।