डेंगु संक्रमणको प्रकोप बढ्दै, काठमाडौंमा ४ हजारको दरमा संक्रमण

नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसवर्ष गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा पनि संक्रमणको दर उच्च रहेको छ । काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ संक्रमित भेटिएका छन् । त्यसैगरी पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ संक्रमित पुष्टि भएका छन् ।

टेकु अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार केही बिरामीहरूमा दोहोरो संक्रमण देखिएको छ । यस्ता बिरामीहरूलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको छ ।

देशभर भने डेंगुबाट १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश व्यक्तिहरू दीर्घरोगी रहेका छन्। उच्च रक्तचाप, मधुमेह, मुटुरोग र कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिहरू बढी जोखिममा रहेको डा. चालिसले बताए । उनका अनुसार अघिल्लो वर्षको संक्रमित लामखुट्टेका अण्डाहरू विकसित भएर यो वर्ष डेंगु फैलिएको हो ।