काठमाडौं । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ ।
मङ्सिर र पुसमा निकै कम सङ्ख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ ।
यसै क्रममा आजदेखि ‘मम्मी’, ‘जुना’ र ‘सारङ्ग’ को प्रदर्शन सुरु भएको छ । बाल मनोविज्ञान र मित्रताको कथा देखाइएको चलचित्र ‘सारङ्ग’ लाई प्रशान्त तामाङले निर्देशन गरेको छ । विद्यालयमा नृत्य प्रशिक्षकका रूपमा समेत कार्य गरिरहेका निर्देशक तामाङले बालबालिकाको कथालाई ठूलो पर्दामा ल्याउँदा त्यसले सकारात्मक प्रभाव छाड्ने बताए ।
“चलचित्रमा एउटा परिवारमा हुने आपसी कलहले बालबालिकामा पार्ने असर, बाल्यकालमा जोडिने मित्रता र सामाजिक उत्तरदायित्वलाई चलचित्रमा समेटेका छौँ”, निर्देशक तामाङले भने ।
यस चलचित्रमा उत्पल झा, ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, सुरज तमु, समीरमणि दीक्षितलगायत कलाकारले अभिनय गरेको छ ।
आजदेखि नै प्रदर्शन सुरु भएको चलचित्र ‘मम्मी’ निरन्तर भन्दा फरक ‘हरर साइकोलोजिकल–थ्रिलर’ विधामा तयार गरिएको निर्देशक समर निरौलाले जानकारी दिए । “नियमित बनिरहेका चलचित्र भन्दा फरक प्रयास गरेका छौँ । मैले केही चलचित्र र टेली शृङ्खलामा काम गर्दा नै सोचेको विषयलाई चलचित्रमा समेटेको छु । यो विषय नेपाली चलचित्र हेर्ने दर्शकका लागि नयाँ हुनेछ”, उनले भने ।
चलचित्रमा प्रियङ्का कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रदर्शन भइरहेको तेस्रो चलचित्र ‘जुनाः एक व्यथा’ को निर्माण बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले गरिएको निर्देशक जीवन सेञ्चुरीले बताए । उनले भने, “चलचित्रको विषय हाम्रो गाउँ समाजमा देखिएकै घटनाक्रम हो । हामीले देखाएको कथा हेरेर थोरै भए पनि सुसूचित हुनुभयो भने हामी सफल हुनेछौँ । उमेर नपुग्दै विवाह भएकी चेलीले भोग्ने कथा नै चलचित्रको विषय हो ।”
दीपकप्रसाद घिमिरेले निर्माण गरेको चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारले अभिनय गरेका छन् ।
