ललितपुर महानगरले गर्‍यो ई–बग्गी परीक्षण

१८ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय माध्यमबाट सञ्चालन हुने ‘ई–बग्गी’ परीक्षण गरेको छ । महानगरले पर्यटन प्रवर्द्धन गर्ने भन्दै ई–बग्गी परीक्षण गरेको हो ।

‘महानगरभित्र आएका पर्यटकलाई घुम्न सजिलो होस् भनेर हामीले यो सुविधाको परीक्षण गरेका हौं । एक महिना परीक्षण गरेपछि महानगरले सञ्चालनको योजना बनाउँछ,’ ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले अनलाइनखबरसँग भने ।

हाछेथुका अनुसार अहिले होटल गुडविलसँग सहयोग मागेर ई–बग्गी परीक्षण भइरहेको छ । महानगरले आन्तरिक तथा वाह्य पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो ।

अहिलेलाई सहयोगमा सञ्चालन गरे पनि राम्रो प्रतिक्रिया पाए ४ थानजति खरिद गरेर चलाउने मेयर चिरीबाबु महर्जनको योजना छ ।