काठमाडौँ – आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने गृह मन्त्रालयले आँकलन गरेको छ।
पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्।
राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका अवस्थामा गृह मन्त्रालयले १० हजार मान्छेको उपस्थित हुने आँकलन गरेको हो। तर राजतन्त्र पुनस्थापना पक्षधरहरूले भने राजाको स्वागतमा हजारौं उपस्थित हुने दाबी गरेका छन्।
राजतन्त्र पुनर्स्थापना पक्षदरहरूको भेलालाई व्यवस्थित बनाउन गृह मन्त्रालयले आयोजकहरूसँग शनिबार छलफल गर्ने तयारी गरेको छ। पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।
तयारीका बारेमा जानकारी दिन र राजतन्त्र पुनस्थापना पक्षधरहरूको भेलालाई उत्तेजित हुन नदिन गृह मन्त्रालयले आयोजकहरूसँग समन्वयको कार्य गरेको स्रोतले जानकारी दियो। गृह स्रोतका अनुसार सरकार भेलालाई नियन्त्रण गर्न वा ठूलो बल प्रयोग गर्ने पक्षमा छैन।
गृहमन्त्री रमेश लेखक खुकुलो ढंगले नै पूर्व राजा पक्षदरहरूलाई सडकमा आउन दिनुपर्ने पक्षमा देखिएका छन्। पूर्व राजाको पक्षमा दिनदिनै जनमत बढ्दै गएपछि राजनीतिक रुपमा पनि उनीसँग संवाद अगाडि बढाउनुपर्ने आवाज सत्तारुट दल भित्रैबाट उठ्न थालेको छ।
राजतन्त्रको अन्त्यपछि पूर्व राजालाई राजनीतिक रुपमा निषेध र व्यवस्था गर्दै आएका दलहरू पहिलोपटक राजासँग संवाद गर्नुपर्ने र मध्यमार्गी बाटो अपनाउनुपर्ने मान्यतामा कांग्रेस एमाले भित्र आवाज उठ्न थालेको हो।
यसैबीच राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको आवास ठूलो भइरहेको अवस्थामा भारतको अतिवादी समूह राष्ट्रिय स्वयंसेवक संघले पनि नेपालमा आफ्ना गतिविधि विभिन्न माध्यमबाट अघि बढाएको छ।
आरएसएसले नेपालमा हिन्दू गणतन्त्र र मुस्लिम विरोधी एजेन्डालाई बोकेर आफ्ना गतिविधिहरू अघि बढाइरहेको सुरक्षा स्रोतको दाबी छ।
