काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?’ भनेर प्रश्न गरेका छन् । ‘सगरमाथा संवाद’ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त प्रश्न गरेका हुन् ।
‘सगरमाथा संवाद’ ले सगरमाथाको काखबाट विश्वलाई हिमालको संरक्षण सिंगो मानव जगतको संरक्षण रहेको सन्देश दिएको उनले बताए ।
सगरमाथा संवाद सुन्न, बोल्न र बुझ्नको लागि नेपालको अग्रसर्तामा आयोजना गरिएको विश्व संवाद कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताए ।
यस कार्यक्रमले सगरमाथाको अग्लो चुचुरो जस्तै उचाइ लिने विश्वास लिइएको पनि उनको भनाइ छ । नेपालको करिव आधि भू भाग जंगलले ओगटेको तथ्य बताउँदै नेपालले कार्बन उत्सर्जनमा नगन्य भूमिका खेलेको र कार्बन उत्सर्जनमा नेट जिरो कायम गर्न प्रतिबद्ध रहेको बताए ।
जलवायु परिवर्तन अब समान्य नरहेको भन्दै विश्व संकटको रुपमा उदाएको विषय बनेको पनि उनले बताए । हिमालको असरले पानीका स्रोत, ग्लेसियर र समुन्द्रसम्मले प्रत्यक्ष असर पर्ने तथ्यको पनि उनले स्मरण गराए ।
‘हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो, महासागरहरू जोगाउनु हो, स्वयं मानवता जोगाउनु हो’ उनले भने, ‘यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् ।’
