काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशको पहिलो सम्मेलनले विराजकाजी राजोपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
सम्मेलनबाट काठमाडौंका राजोपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै चितवनका विनोद श्रेष्ठ र काठमाडौंकी कुसुम बज्राचार्य उपाध्यक्षमा, ललितपुरका सनीराज शाक्य सचिवमा, काभ्रेका विश्वनाथ ताम्राकार र काठमाडौंकी विष्णुदेवी महर्जन सहसचिवमा तथा भक्तपुरका श्यामकुमार था कोषाध्यक्षमा चयन भएका छन्।
सदस्यमा काठमाडौंका मदनराम कर्माचार्य र सुरज मानन्धर, ललितपुरका राजु महर्जन ‘जुजु’, भक्तपुरका दीपक कायस्थ श्रेष्ठ र ज्ञानदेव श्रेष्ठ तथा काभ्रेका पुनमाया कर्माचार्य (श्रेष्ठ) चयन भएका छन्।
कार्यसमिति चयनअघि आयोजित उद्घाटन सत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष एवं संगठन विभागका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले सभापतित्व गरेका थिए। कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
पहिलो प्रदेश सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिले नेवाः पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, नेपालभाषा पत्रकारिताको प्रवर्द्धन तथा नेवार समुदायको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
बागमती प्रदेशमा रहेका नेवाः पत्रकारलाई संगठित गर्दै पत्रकारितामार्फत नेवार समुदायका भाषा, संस्कृति र मौलिक पहिचानका विषयलाई थप प्रभावकारी रूपमा उजागर गर्ने जिम्मेवारीसमेत नयाँ कार्यसमितिमाथि आएको छ।
