न्हूदँ समारोह समितिको अध्यक्षमा प्रा.प्रेमहिरा तुलाधर नियुक्त

काठमाडौँ । यस वर्ष नेपाल संवत्‌काे नयाँ वर्ष मनाउन न्हूदँ ११४६ समारोह समितिमा प्रा.प्रेमहिरा तुलाधर अध्यक्ष चुनिएकी छिन्। न्हूदँ ११४५ समारोह समितिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको सभापतित्वमा शुक्रबार बसेको बैठकले नेवाः अभियानकर्मी तुलाधरलाई सर्वसम्मतिबाट अध्यक्षमा चुनेको हो ।

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन विगत लामो समय देखि सक्रिय रहि आएका उनी नेवा: समाजमाझ बौद्धिक व्यक्तित्वको रुपमा परिचित रहेका छिन् । उनी लामो समयदेखि नेपाल भाषा र साहित्यको उत्थानमा सक्रिय छिन्।

बैठकले नव वर्ष नेपाल संवत् ११४६ देशभर विविध कार्यक्रम गरी मनाउन ५५ सदस्यीय मूल समारोह समिति गठन गर्नाका साथै भोलि शनिबार ११ बजे बैठक बसी कार्य सञ्चालनका लागि सचिवालय पनि गठन गर्ने भएको छ।

उक्त बैठकमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, न्हूदँ ११४४ समारोह समितिका पूर्वअध्यक्ष प्राडा नरेशमान बज्राचार्य लगायत थुप्रै भाषिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

साथै न्हूदँ मनाउने कार्यलाई थप व्यवस्थित र वैधानिक बनाउन संस्था दर्ता गर्ने काम सम्पन भएको जानकारी सुजिब बज्राचार्यले दिए।